२४ वर्षीया कृषा बनाउँछिन् 'कोरोना कमिक्स'

लकडाउनले चारैतिर सुनसान समय। एक युवक गाडी लिएर सुटुक्क सहर पस्छ। गाडीको पछाडि भागमा अर्को व्यक्ति पनि बसेको हुन्छ।

बैजनी शरीर, हरियो लुगा र कालो चस्मा लगाएर व्यक्ति निस्फिक्री बसिरहँदा पनि युवकले थाहा पाउँदैन।

लकडाउनमा गाडी चलाएकाले प्रहरीले जाँच गर्छन्। पछाडिको व्यक्ति र प्रहरीबीच गोली हानाहान हुन्छ। प्रहरीबाट जसोतसो भाग्न सके पनि हातापाइमा चालक युवक घाइते हुन्छ। उसलाई अस्पताल लगिन्छ।

अस्पतालमा डाक्टरले जाँच्छन्। उसलाई कोरोना पोजेटिभ देखिन्छ। रिपोर्टमा लेखिएको हुन्छ- कोरोना भाइरसले 'गोली' हानेको।

चालक युवकको पछाडि बस्नेको नाम हो कोरोना। 

एकाएक सहरमा 'कोरोना' नामक व्यक्तिको त्रास फैलिन्छ। प्रहरीहरू सबैलाई 'कोरोना'बाट बच्न घरभित्र बस्न आग्रह गर्छन् र 'कोरोना'लाई समात्न लागि पर्छन्।

कोरोना संक्रमण फैलिरहेको अवस्थासँग यो कथा मिल्दोजुल्दो छ, सँगै केही हास्यास्पद पनि लाग्छ। नलागोस् पनि किन, यो कहानी वास्तविक होइन।

यो कथा त 'किरीमिरी' डिजाइन स्टुडियो सञ्चालक कृषा ताम्राकारले बनाएको 'कोरोना कमिक्स' हो। आफ्नो 'कोरोना कमिक्स' श्रृंखलाबाट उनी अहिलेको त्रासमय समयलाई केही रमाइलो ढंगमा प्रस्तुत गर्ने प्रयास गरिरहेकी छन्।

२४ वर्षीया कृषा ग्राफिक डिजाइनर तथा कार्टुनिस्ट हुन्। करिब दुई वर्षदेखि उनले कमिक्स बनाउँदै आएकी छन्। कमिक्स अर्थात्, कुनै पनि विषयवस्तुलाई सामान्य कार्टुन मार्फत् व्यक्त गर्ने कला शैली।

प्रकाशित मिति: : 2020-09-16 06:24:00

प्रतिकृया दिनुहोस्