बलिउडमा चुलिएको ड्रग्स विवादलाई लिएर अभिनेत्री तथा समाजवादी दलकी राज्यसभा संसद जया बच्चनले दिएको विवादास्पद बयानको गंगना रनौटले नमिठो जवाफ दिएकी छिन्।
संसदको मनसुन सत्रमा भाजपा संसद तथा भोजपुरी स्टार रवि किशनले बलिउडमा रहेको फोहोरलाई सफा गर्न सरकारसँग आग्रह गरेका थिए। उनले ड्रग्सको मुद्धा उठाउँदै अब बलिउडमा सफाई गर्ने बेला आएको बयान दिएका थिए।
त्यसको प्रतिउत्तरमा जया बच्चनले ‘जुन थालमा खायो, त्यसैलाई दुलो बनाएको’ भन्दै जय किशनको आलोचना गरेकी थिइन। उनले कंगनाप्रति पनि कटाक्ष गरेकी थिइन्।
जयाको भनाईं बाहिरिएको भोलि पल्ट अर्थात मंगलबार कंगनाले जवाफ दिँदै भनिन्, ‘तपाईको छोरा फाँसीमा झुन्डिएको भए के यस्तै बयान दिनुहुन्थ्यो।’ रवि किशनले पनि जया बच्चनबाट यस्तो भनाईको आफूले कल्पना नगरेको बताए।
जयाले भनेकी थिइन, ‘केही व्यक्ति पूरै फिल्मी उद्योगको छवि बिगार्ने अभियानमा लागेका छन्। मलाई लाज लाग्छ, लोकसभामा हाम्रै सदस्य, जो फिल्मी उद्योगसँग पनि जोडिएका छन्, उनले फिल्मी उद्योगविरूद्ध बोले।
यो लज्जास्पद छ। तपाई जुन थालमा खानुहुन्छ, त्यसलाई दुलो पार्नुहुन्न।’
सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा बच्चन परिवार धेरै पहिलेदेखि मौन छ। सुशान्तको निधनमा शंकाको घेरामा रहेकी रिया चक्रवर्तीलाई छानवीनका लागि नारकोटिक्स कन्ट्रोल व्यूरो (एनसीबी) ले हिरासतमा राखेर सोधपुछ गर्न थालेपछि जयाकी छोरीले यसको विरोध गरेकी थिइन। उनी रियाको समर्थनमा उत्रिएकी थिइन्।
सुशान्तको मुद्धामा केही नबोल्ने र कंगनाको घर तोडफोड हुँदा पनि चुपचाप बसेको बच्चन परिवारको पछिल्लो बयानको ठूलो विरोध भइरहेको छ।
कंगनाले जयाको भाषणलाई ट्वीट गर्दै लेखेकी छिन्, ‘जयाजी तपाई त्यतिबेला बोल्न सक्नुहुन्थ्यो, मेरो ठाउँमा तपाईंको छोरी श्वेतामाथि कुटपिट भएको भए, जबरदस्ती ड्रग्स कोच्याइएको भए वा युवाअवस्थामा शोषण भएको भए। के तपाई त्यतिबेला यो कुरा गर्न सक्नुहुन्थ्यो, यदी अभिषेकले लगातार आफूमाथि उत्पीडन भइरहेको बताउँथे र एकदिन उनी झुन्डिएको भेटिन्थे। हामीसँग सहानुभूति राख्नुहोस्।’
जयाले कंगनाको भनाईको कुनै प्रतिउत्तर दिएकी छैनन।