रुकुम घटनायता मधेसमा आठ दलितको हत्या : मधेसका दलित निरन्तर आन्दोलित, काठमाडौंलाई वास्ता छैन

रौतहट गरुडा नगरपालिका– ८ जिंगडियाका १९ वर्षीय युवा विजय राम गाउँ–छिमेकमा पढेलेखेका युवा मानिन्थे । उनले ११ कक्षा पढेका थिए, उनीबराबर पढेको युवा छिमेकमा थिएन । गाउँमा आशा गरिएका १९ वर्षीय विजयको शव १९ दिनदेखि काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा छ । 

मामाका छोरा निरञ्जन रामको हत्या आरोपमा विजय पक्राउ परेका थिए । तर, उनले आफू निर्दोष भएको दोहोर्‍याइरहेका थिए । उनीविरुद्ध प्रमाण नभएकाले प्रहरीले उनीबाटै बकाउने कोसिस गरेको थियो । त्यही क्रममा चरम यातना दिँदा उनको हिरासतमै मृत्यु भयो । निर्दोषलाई दोषी साबित गर्न यातना दिने ६ प्रहरी अधिकारीविरुद्ध विजयका बाबु पनिलालले सरकारी वकिल कार्यालयमार्फत २४ भदौमा उजुरी दर्ता गराएका छन् । तर, प्रहरीले अहिलेसम्म कुनै कारबाही थालेको छैन ।

विजयका मामाका छोरा २१ वर्षीय निरञ्जन ३१ साउन राति रौतहटको गरुडा–८ स्थित लखन साहको घरमा बर्थ–डे पार्टीमा गएका थिए । साहको नर्सरीमा काम गर्ने भएकाले उनलाई बोलाइएको थियो । त्यही राति घाँटी रेटेर उनको हत्या भयो । 

‘२१ वर्षीय दलित युवाको हत्या भएपछि गाउँ आक्रोशित थियो । तर, प्रहरीले राति दलित बस्तीमा आएर घरघरबाट मान्छे तानेर कुटपिट ग¥यो, राति नै ११ जनालाई पक्राउ गरेर हिरासतमा लगियो जसमध्ये विजय पनि थिए,’ छिमेकी जवाहर रामले नयाँ पत्रिकासँग भने । 

एक सातापछि ७ भदौमा इलाका प्रहरी गरुडाका डिएसपी ज्ञानकुमार महतोले पत्रकार सम्मेलन गर्दै सातजना मिलेर निरञ्जनको हत्या गरेको ‘खुलासा’ गरे । त्यो वेलासम्म चारजनालाई छाडिएको थियो । नर्सरीका साहु लखनका छोरा राजाराम, साथीहरू शेख आजाद, अजयकुमार रञ्जन, विवेक राय यादव, अर्जुन राम, टिकिन्द्र पासवान र विजय रामले मिलेर हत्या गरेको प्रहरीको दाबी थियो । 

नर्सरी साहुको योजनामा उनका सहयोगीले हत्या गरे पनि गाउँका सोझासिधा युवाहरूलाई फसाइएको भन्दै गाउँमा विरोध भयो । स्वयं निरञ्जनका बाबु रामलालले पनि नर्सरी साहु लखन, भाइ राजगिर, छोरा राजाराम र साथी शेख आजाद मिलेर हत्या गरेको किटानी जाहेरी दिएका थिए । ‘तर, प्रहरीले नर्सरी साहु र उनका भाइ राजगिरको नाम हटाउन र विजयसहित अन्य पाँचजनाको नाम थपेर ल्याउन दबाब दियो, त्यो विषयमा विवाद बढेपछि प्रहरी कार्यालयमै झडप भएको थियो,’ जवाहरको भनाइ छ । 

मुख्य दोषीलाई कारबाही गराउन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा स्थानीय घाइते भए । महिलालाई अस्पताल भर्ना गर्नुपर्‍यो । न्यायको माग गर्ने स्थानीयमाथि बाहिर बल प्रयोग गरेको प्रहरीले हिरासतभित्र रहेका युवालाई पनि कुटपिट गरिरहेको थियो । मुख्य दोषीलाई लुकाएर निर्दोषलाई फसाउन प्रहरीले पाँचजना युवामाथि ज्यादती नै गरेको थियो । हिरासतमा यातनापछि गम्भीर बनेका विजयलाई ८ भदौमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भर्ना गरिएको थियो, १० भदौ मध्यरातमा उनको मृत्यु भयो ।

प्रकाशित मिति: : 2020-09-15 12:06:16

प्रतिकृया दिनुहोस्