स्वास्थ्यकर्मीलाई कोरोना भएको विवरण किन लुकायो टेकु अस्पतालले?

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना कुनै पनि स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गर्दै आएपनि यसअघि नै अस्पतालका दुई जना चिकित्सक र दुई जना कार्यालय सहयोगीलाई संक्रमण देखिएको खुलेको छ।

अस्पताल स्रोतका अनुसार झन्डै तीन साताअघि स्वास्थ्य मन्त्रालयले टेकु अस्पतालका चिकित्सकसहित सबै कर्मचारीको परीक्षण गर्दा दुई जना चिकित्सकमा संक्रमण पुष्टि भएको थियो।

अहिले ती दुबै चिकित्सक निको भएर काममा फर्किएको स्राेतले बताएकाे छ। तर अस्पतालले भने उक्त सूचना लुकाएर कुनै पनि स्वास्थ्यकर्मीमा संक्रमण नदेखिएको बताउँदै आएको थियो।

गत बुधबार मात्र आइसियूमा रहेका संक्रमितहरूको सरसफाइ गर्ने दुई जना सहयोगी महिलालाई पनि संक्रमण पुष्टि भएको थियो। स्रोतले सेतोपाटीसँग भन्याे, 'उहाँहरू आइसियूमा रहेका विरामीहरूको सरसफाइमा खटिनुभएको थियो। पछि परीक्षण गर्दा उहाँहरूमा संक्रमण पुष्टि भयो।'

प्रकाशित मिति: : 2020-09-13 23:15:59

प्रतिकृया दिनुहोस्