रित्तिएको बोतल

म यस्तो पटक्कै थिईनँ। तर खै आजभोलि किन किन यो रक्सी नै मेरो साहरा भएको छ। जब जिन्दगीमा सबैथोकले साथ छोड्छ तब मानिस रक्सीको साहरा खोज्दो रहेछ।

मेरो एक मात्र साथी यहीँ हो जस्तो महसुस हुन थालेको छ। कस्तो जीवन थियो, कस्तो भयो। कहिलेकाहीँ त यस्तो लाग्छ मेरो लाश जलाउँदा पनि मानिसहरुले मेरो चितामा गाईको घ्यू खन्याए जस्तै गरेर रक्सी नै खन्याईदिने छन्। त्यस्तो कोही छैन जसलाई मेरो यो नशाको बारेमा थाहा नभएको होस्।

म शुद्ध बाहुनको छोरा। बुवा पुरेत हुनुहुन्थ्यो। गाउँभरीका मान्छे सबै उहाँलाई मान्थे। म उहाँलाई कहिलेकाहीँ कर्मकाण्ड गर्न सहयोग गर्थेँ। बुवा पुरेत भए पनि मेरो पुरेत बन्ने ईच्छा कहिल्यै भएन। मेरो ईच्छा त अरू जस्तै डाक्टर र ईन्जिनियर बन्ने थियो। तर के गर्नु यो सोर्सफोर्स मात्रै चल्ने शहरमा मेरो त्यो ईच्छा पूरा हुन निकै गाह्रो थियो। पढ्नमा त म सानैदेखि ट्यालेन्ट थिएँ। तर म निम्न वर्गमा हुर्केको मान्छे। बुवाआमालाई दुई छाक टार्नै गार्‍हो भएको बेला म लाखौं लाख खर्च लाग्ने ईन्जिजियरिङ र डाक्टरको पढाइ पैसा तिरेर पढ्ने कल्पना पनि गर्न सक्दिनँ थिएँ? त्यसैले मैले जसरी भए पनि छात्रवृत्तिमा नाम निकालेर पढ्ने विचार गरें। गाउँको स्कूल पढेर म काठमाडौंको नाम चलेको ईन्जिनियरिङ कलेजमा पढ्ने ईच्छा मनमा बोकेर बुवाआमालाई छोडेर पहिलो पटक शहर पसेँ।

मेरो दिनरात सपनामा पर्ने शहरमा पहिलोपटक पाईला टेक्दा म यति खुशी भए कि त्यो खुशीको वर्णन पनि म गर्न सक्दिनँ। राजधानीको रहनसहन र झिलिमिलीले मलाई बहकाउन नखोजेको त होइन। तर म सक्दो कोशिश गर्थेँ यस्तो चिजहरुबाट टाढै बस्न। मलाई आफ्नो भविष्य बनाउनु थियो। नेपालको टप ईन्जिनियर बन्नु थियो।

काठमाडौ आएर म एक्लै कोठा लिएर बस्न थालेँ। बुवाआमाको छत्रछायाँमा हुर्केको मेरो लागि यो विरानो शहरमा एक्लै बस्नु र आफैंले पकाएर खानु सानो कुरा थिएन। काठमाडौंमा मेरो मामाको छोरा अर्थात् मेरो दाइ हुनुहुन्थ्यो। उहाँले म गाउँ छँदादेखि नै आफैंसँग बस्न अनुरोध गर्नुभएको थियो। आमा पनि बारम्बार भन्नुहुन्थ्यो, ‘नजानु गईसकेपछि तँ अर्जुन कैमा बसेस् है बाबु। बाहिर मन भड्किन बेर लाउन्न। शहरको ठाम हाम्रो आफ्नो भन्नु त्यहीँ अर्जुन हो। त्यसैले तँ त्यही बस्,’ आमाले पिर लिएको देखेर मैले सम्झाउँदै भनेँ, ‘दाइ विवाह गरेर परिवारसँग बस्ने मान्छेलाई फेरि म जाँदा केही असुविधा हुनसक्छ। तपाई पिर नगनुस् न आमा। म बच्चा कहाँ हो र। म एक्लै बस्छु।’

मेरो कुरा सुनेर आमाले निधारमा मुजा पारेर भन्नुभयो, ‘लौ त अब बुझ्ने भईसकिस् म के भनम्।’ आमाको अनुहारमा चिन्ताका धर्साहरु देखा परेका थिए।

यहाँ आएर अर्जुन दाइलाई फोन गरेपछि उहाँले निकै कर गर्नुभयो आफूसँगै बस्नलाई तर मैले अस्वीकार गरिदिएँ। एक्लै कोठा लिएर बस्न थालेँ। बुवाआमालाई पैसाको लागि केही दुःख दिन मन लाग्दैन थियो। त्यसैले साना साना भाइ बहिनीलाई ट्यूसन पढाउँदै पैसा जम्मा गर्न थालेँ।

त्यसपछि ठिकठाक देखिने सामान्य सरकारी कलेजबाट फिजिक्स विषय लिएर आई.एस्सी सकाएँ। जसोतसो दुःख गरेर आईएस्सी सकेपछि अर्जुन दाइको सहयोगमा स्नातकको लागि नाम चलेको ईन्जिनियरिङ कलेजमा गएर भर्ना गर्न फारम लिएँ। कलेजको नियम अनुसार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने पाँच जानालाई छात्रवृत्तिको व्यवस्था रहेछ। अर्जुन दाइले खुशी मान्दै भन्नुभयो, ‘हेर त शंकर पाँच जनाको लागि छात्रवृत्तिको व्यवस्था रहेछ। म विश्वस्त छु तिमी यो पाँच जानाभित्र पहिलो स्थानमा पर्ने छौ।’ अर्जुन दाइको कुराले मभित्र झनै हौसला बढ्यो। म एकदम मेहेनत गरेर पढ्न थालेँ।

ईन्जिनियरिङ कलेजको प्रवेश परीक्षा आउन दश दिन मात्रै बाँकी थियो। दिनहरु छिटो छिटो बित्दै गए अनि प्रवेश परीक्षा दिने समय पनि आयो। बुवाआमाले मलाई यस्तो संस्कार दिएर हुर्काउनु भएको थियो कि म कुनै पनि काम आमा बुवाको आर्शिवाद बिना थालनी गर्दिनँ थिएँ। त्यसैले ईन्जिनियरिङ कलेजको प्रवेश परीक्षाको दिन म विहानै उठेर नुहाएर बुवाआमालाई फोन गरेँ। आमाले प्रफुल्लित स्वरमा भन्नुभयो, ‘राम्रोसँग परीक्षा दिएस् बाबु, सपना राम्रो देख्या छु पक्कै राम्रो होला। बरू जाने बेलामा गणेश भगवानको आरधना गर्नू। सब राम्रो हुन्छ,’ आमाको कुरा सुनेर मैले ‘हस् आमा पिर नगर्नू’ मात्रै भनिदिएँ।

अर्जुन दाईसँग पनि फोन गरेर आर्शिवाद मागेँ। उहाँ मेरो लागि आफ्नो दाइ जतिकै हुनुहुन्थ्यो। मलाई सधैं हौसला दिएर मेरो हिम्मत बढाईदिनु हुन्थ्यो। त्यसदिन उहाँले नै जिद्दी गरेर मलाई ईन्जिनियरिङ कलेजको गेटसम्म ड्रप गरिदिनुभयो। बाटोमा जाँदा मैले आमाको आज्ञा पालन गर्दै गणेश भगवानको स्तोत्र मनमनै जप्दै मन्दिर ढोगेँ, ‘बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ निर्विध्न कुरूमे देव सर्वकार्येषु सर्वदा

म कलेजको गेटभित्र मात्रै के पसेको थिएँ सबै जना गलल्ल हाँस्न थाले। सायद मेरो शीरमा भएको ढाका टोपी देखेर हाँसेका होलान्। म गाउँबाट शहर पो आएको थिएँ त विदेश त आएको होइन नि मेरो शीरको ढाका टोपी देखेर त्यति हाँस्नलाई। म सरासर गएर कक्षामा बसेर परीक्षा दिएँ। सबै प्रश्नको उत्तर लेखेँ। मलाई अब ईन्जिनियरिङ पढ्न पाउँछु भन्ने कुराले त्यसैत्यसै खुशी बनायो। सबैभन्दा पहिला गाउँमा फोन गरेर बुवा र आमा दुबैलाई यो कुरा सुनाएँ। आमाको स्वर रूघियो। रुन्चे स्वर बनाउँदै उहाँले भन्नुभयो, ‘धेरैका छोराले बुवाआमालाई बृद्धाश्रम जान बाध्य बनाएका छन् तर तैंले हाम्रो शीर सधैं उच्च राख्या छस् बाबु। ल अब नाम निस्किन्छ।’ त्यसैदिन म पहिलो पटक अर्जुन दाइ कहाँ गएँ। भाउजुले निकै राम्रो सत्कार गर्नुभयो। निकै लामो समयपछि अपनत्व महसुस गरेँ।


प्रवेश परीक्षाको परीक्षाफल आउन एक हप्ता बाँकी थियो जुन मेरो लागि एक वर्ष जसरी बित्यो। औला भाँच्दै गन्दा गन्दा त्यो दिन आयो जुन दिनले मेरो भविष्य निर्धारण गर्नेवाला थियो। म परीक्षाफल हेर्न कलेज गएँ। कलेजको बोर्डमा एक नम्बरमा मेरो नाम देखियो। यो भन्दा अगाडि जो मेरो ढाका टोपी देखेर हाँसेका थिए उनीहरु मैले ढाका टोपी लाएकोमा गर्व गर्न थाले।


म यति खुशी भएँ कि मेरो खुशीको कुनै सिमा भएन। आमा र बुवालाई आफ्नो कोठामै पुगेर यो खबर सुनाउँछु भन्ने उदेश्यले पहिला खुरूखुरू कोठामा गएँ। कोठामा पुगेर फ्रेस भएर आमालाई फोन गर्न हातमा फोन मात्रै के लिएको थिएँ कलेजबाट फोन आयो। ‘हेलो म ईन्जिनियरिङ कलेजबाट फोन गर्दैछु तपाईँ शंकर जी हो?’ कलेजबाट फोन आएको भन्नासाथ पक्कै बधाई दिनलाई होला भन्ने लाग्यो। मैले उत्सुक हुँदैं भनेँ, ‘हजुर हो’ उताबाट फेरि आवाज आयो, ‘म यस कलेजको प्रिन्सीपल बोल्दैछु तपाई अहिले एकपटक कलेज आउनुपर्‍यो।’ म छक्क परेँ भर्खरै त म कलेजबाटै फर्किदैछु फेरि के काम पर्‍यो होला त त्यस्तो? म ढिलो नगरी कलेज पुगेँ। सरासर प्रिन्सीपलको अफिसमा गएँ। उनी गम्भीर मुद्रामा थिए। उनले भन्दै गए, ‘हेर्नुस् आज विहान कलेजमा टाँसिएको नतिजामा गल्ती भएको रहेछ। तपाईँको नाम गल्तीले पर्न गएकोमा हामी क्षमा चाहन्छौं। माफ गर्नुहोला तपाईँले यो छात्रवृत्ति पाउनुभएको छैन।’

एकछिन अगाडिसम्म उडेको मन बेस्सरी भूईँमा बजारियो। यो कसरी हुन सक्छ? के म पाँचजाना भित्र पनि परिनँ? बिहान भर्खर पहिलो स्थानमा मेरो नाम थियो त्यो पनि शतप्रतिशत छात्रवृत्तिमा। अनि यो एक्कासी के हो? मलाई पक्कै केही गडवड छ जस्तो लाग्यो। केही बोल्न त सकिनँ तर मनभित्रभित्रै ज्वाला दन्कियो। के जवाफ दिउँ म बुवा र आमालाई? म सोच्दै कलेजको कम्पाउण्ड भित्र हिँडिरहेको थिएँ। अचानक देखेको दृश्यले मलाई भाउन्न छुट्यो। प्रिन्सीपलले हजारको नोटको बिटो समाउँदै कसैसँग हात मिलाउँदै थिए। म उनीहरुले सुईको नपाउने गरेर नजिकै हिँडेजस्तो गरेर यताउता गरिरहेँ। प्रिन्सीपल भन्दै थिए, ‘मन्त्री ज्यू बिचरा त्यो शंकर भर्खर गाउँबाट आएको हुनाले मूर्ख बनाउन पाईयो। नत्र त आजकलका केटाहरु यति बाठा हुन्छन् कि यो सब सम्भव नै हुँदैन। अब ढुक्क हुनुस् आशिष बाबुले एक पैसा पनि तिर्नुपर्दैन सबै फ्री हा हा हा।’


म उनीहरूबाट लुक्न खोज्दा खोज्दै उनीहरुले मलाई देखिहाले। म भएभरको बल निकालेर कराएँ, ‘शिक्षा जस्तो पवित्र क्षेत्रमा यस्तो घटिया खेल खेल्न लाज लाग्दैन? तपाईँहरु जस्ता घुस्याहकै कारणले बदनाम छ यो देश अनि हाम्रो समाज।’


मेरो कुरा सुनेर प्रिन्सीपलले गाला रन्किने गरेर एक झापड हाने। म केही नबोली रूदैं कलेजबाट निस्केँ। कोठासम्म पुग्ने बाटो निकै लामो लाग्यो। आमालाई खुशी हुँदै भनेका शब्दहरु सम्झेँ। सफलताको शिखर चढ्दाचढ्दै चुचुरो गर्ल्याम्मै ढल्यो। 

म आमाबुवालाई के जवाफ दिउँ अब? कसरी प्रस्ट पारौं यी सबैकुराहरु। एक मन त पत्रकारलाई भन्दिउँ कि जस्तो लाग्यो। अनि कोही साथीको साहरा लिउँ जस्तो लाग्यो। मैले सुनेको थिएँ बल, बैंस, प्रतिभा र पैसा भएमात्रै सफलता हाँसिल गर्न सकिन्छ। मैले ती सबै कुरा मनन गरेर धेरै मेहेनत गरेँ। जतिबेला मसँग बल थियो मैले बल निकालेर पढेँ। बैंस थियो त्यसैले रातारात निन्द्रा माया मार्दै पढेँ। भोक, निन्द्रा र धेरैकुरा माया मारेर घुँडा धसेर पढेँ। तर मलाई धोका दियो पैसाले। प्रिन्सीपलले खेलाएको पैसाको बिटो सम्झेँ। के आज मसँग ट्यालेन्ट हुँदाहुदैं पनि पैसा नभएकै कारणले मैले पाएको छात्रवृत्ति गुमाउन परेको हो त? निराश भएर पाईला चाल्दै थिएँ अचानक मेरो आँखा एउटा भट्टी पसलमा गयो। एक जना अधबैंसे दाइ रक्सी पिउँदै थिए। साउनीलाई कसैले सोध्यो, ‘किन दिनदिनै भट्टीमा आएर रक्सी पिउँछन् यी दाइ?’ साउनी भन्दै थिईन्, ‘पिर भुलाउन रे। खै के पिर परेको हो कुन्नी जहिले पनि पिर पर्‍यो भन्दै यसैगरी रक्सी पिउँछन्।’

मेरो मनमा खिल गडे झैं गड्यो त्यो शब्द। मैले मनमनै सोचेँ, ‘अहो पिर भुलाउन त रक्सी पो पिउनु पर्दोरहेछ।’ म पनि पिर भुलाउन पिउने उदेश्यले अर्को भट्टीमा गएँ। टेबलमा बसेँ अनि रक्सी मगाएर पिएँ। पिउन त पिएँ तर साह्रै नमिठो लाग्यो। त्यसपछि हरेक दिन पिउन थालेँ। कहिले जमघटमा पिएँ त कहिले एकान्तमा पिएँ। पिर भुलाएर मुस्काउन सक्छु कि भनेर पिएँ। त्यसपछि बिस्तारै बिस्तारै मलाई रक्सी पिउने बानी लाग्यो। कुनै रात खुल्ला आकाशमुनि रक्सी पिएर लडेँ। कुनै रात बन्द कोठामा लडेँ। कहिले एकान्तमा लडेँ अनि कहिले मान्छेहरुको भिडमा लडेँ। म लडेको देखेर अरु हाँस्न थाले।


यसै पनि तमासा हेर्ने जमातको कमी के थियो र। पहिला मैले ढाका टोपी लगाएको देखेर हाँस्थेँ पछि मैले पिएको देखेर हाँस्न थालेँ। यसैगरी पिउने बानी लाग्यो र आजसम्म पिउँदै छु।


ईन्जिनियर बन्ने सपना लिएर यो शहर पसेको थिएँ तर दिनहुँ नशामा डुबिरहेछु। थाहा छैन अबको बाटो के हो अनि गन्तव्य के हो? आजकल मलाई न बुवाआमाको आँशुले पिरोल्छ न अर्जुन दाईको मायाले पगाल्छ। जब आफूसँग ट्यालेन्ट हुँदाहुँदै त्यसको कदर हुँदैन तब सायद मेरो जस्तै हाल हुन्छ। थाहा छैन समाजमा अझै म जस्ता कति शंकरहरु छन् जो क्षमता हुँदाहुँदै पनि नातावाद र कृपावादको कारणले पछि परेका छन्।

म रित्तिएको बोतलसँग कुरा गर्दै बसेँ। किनकि आज मेरो जिन्दगी कसैले रित्याए अनि मैले यो बोतल रित्याएँ।

प्रकाशित मिति: : 2020-09-12 10:54:00

प्रतिकृया दिनुहोस्