कैलालीको धनगढी उपमहानगरपालिका-३ बडहराकी ३६ वर्षीया अनिता केसी भैंसी पाल्छिन। भैंसी पालेरै उनले राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार पाइसकिन्। सुदूरपश्चिमको क्षेत्रीय उत्कृष्ट कृषि पुरस्कार पनि पाएकी छन्।
अनिताको उद्यम हेर्न अहिले सरकारी कार्यालयका कर्मचारीहरू आइरहन्छन्। उनी पनि आफ्नो गोठ हेरेर दंग छिन्।
झन्डै १४ वर्षअघि उनले एउटा भैंसी पाल्न सुरू गरेकी थिइन्।
२०५९ मा कक्षा १० पढ्दै गर्दा बिहे गर्नु परेपछि पढाइ पनि छोड्नुपर्यो। श्रीमानको संयुक्त परिवार थियो। चार वर्ष उनी बुहारीमात्र भएर बसिन्। अरू महिलाजस्तै उनी पनि घरयसी काममै व्यस्त हुन्थिन्।
‘ससुरा सरकारी जागिरे हुनाले घरका सबै उहाँकै तलबले चलेका थियौं,’ उनले भनिन्।
त्यसबेला उनका घरमा दूध खान पालेको एक भैंसी थियो। त्यसको गोबर फाल्ने, घाँस काट्ने, दुहुनेजस्ता काम उनी गर्थिन्।
२०६३ सालमा श्रीमान् भाइ अंश लिएर छुट्टिए। उनको भैंसी पनि छुट्यो। श्रीमान् र उनी दुबै बरोजगार थिए। अब घरमै बसेर केही हुँदैन भनेर उनका श्रीमान् मलेसिया जान तयार भए।
अनिताले नजानु भन्ने आधार पनि थिएन। छरछिमेकका अरू पुरूष पनि विदेश गएकै थिए।
‘बाहिरबाट कमाइ गर्नेहरूले उता जेजस्तो दुःख गरे पनि घरगाउँतिर फलानो त विदेशमा छ भन्ने चलन छ। त्यही इज्जतिलो मानिन्थ्यो। त्यसैले उहाँ पनि जानुभयो,’ अनिताले भनिन् ।