वीरगञ्जमा कोरोना संक्रमितकाे शव व्यवस्थापन गर्न सामुदायिक शवदाह गृह निर्माण गरिने

वीरगञ्जमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि शव व्यवस्थापन गर्न सामुदायिक शवदाह गृह निर्माण गरिने भएकाे छ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको सकृयतामा वीरगञ्ज महानगरपालिका १३ स्थित श्रीरामजानकी मठ परिसरकाे नदी किनारामा अत्याधुनिक शवदाह गृह निर्माण गर्न लागिएकाे हाे।

यसका लागि व्यवसायी राजकुमार दारुकाको अध्यक्षतामा १७ सदस्यी शवदाह निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ । 

विगतमा शव व्यवस्थापनकाे क्रममा स्थानीय वासिन्दासँग झडप भएको र रानीघाटस्थित शवदाह गृहमा समेत विवाद भएपछि यसलाई अन्त्य गर्न छुटै आधुनिक शवदाह गृह निर्माण गर्न लागिएकाे एसएसपी पन्तले बताइन्।

सामुदायिक शवदाह गृहको निर्माणका लागि गठित समितिको सल्लाहकारमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र एसएसपी पन्त रहेका छन्।

त्यसैगरी गठित व्यवस्थापन समितिको उपाध्यक्षमा तुफान फारुक अन्सारी, सचिबमा उमेशलाल सहनी, कोषाध्यक्षमा राजकुमार महतो कोइरी, सदस्यमा बिनोद महतो, प्रधुम्न सेढाई, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान लगायतका व्यक्तिहरु छन्।  

प्रकाशित मिति: : 2020-09-11 13:08:42

प्रतिकृया दिनुहोस्