‘काम खोज्न बाहिर निस्कँदा प्रहरीले कुट्छ। घरभित्र जाऔं परिवार सबै भोका छन्। परिवार नै भोकै पर्दा पनि मैले केही गर्न सकिनँ,’ आँखाबाट आसुँ खसाल्दै एक पुरुष रोइरहेको दृश्य टेलिभिजनमा देखियो।
भदौ १३ गते साँझ ८ बजे समाचार के के आइरहेको छ भनेर टिभी खोल्दा झ्याप्पै यो दृश्य देखेपछि प्रा डा विजया पन्तको आँखा रसाए। केही बेरमा अस्पतालबाट आइपुगेका डा वसन्त पन्तलाई विजयाले यो कुरा सुनाइन्। ‘समाचारमा एक व्यक्तिले आँसु तपतप चुहाउँदै आफ्नो व्यथा कहेँ,’ प्रा डा विजयाले भनिन्, ‘यो दृश्य देखेपछि मलाई खपिसक्नु भएन।’
त्यतिबेला नै विजया र वसन्तले सल्लाह गरे- भोको कोही बस्न हुन्न। केही न केही त गर्नैपर्छ। त्यो समाचार हेरेको रातभर विजयालाई निद्रा परेन। भोलिपल्ट अस्पतालको काम सकेपछि दम्पती नै कालीमाटीतिर लागे भोका मान्छेहरू खोज्न।
साँझतिर पुगेका उनीहरू त्यतिबेला नै लाइनै मान्छेहरु खाना खान बसिरहेका थिए। केही युवाहरु खाना बाँडिरहेका थिए। दुवैजना ती खाना बाँडिरहेका युवाहरुको नजिक गए। ती युवाहरु लायन्स क्लब र लियो क्लबका रहेछन्। युवाहरूसँग आफूहरुले पनि त्यसरी नै खाना बाँड्न मन भएको उनीहरूले बताए।