विपन्न र बेरोजगार नेपालीलाई भारत छिर्नै महाभारत (भिडियो रिपोर्टसहित)

विश्वराज पछडङ्ग्या/तेजराज भट्ट/माेहन विष्ट

 

४४,६२,९६५ 

यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना पुगेको छ । तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् । सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् । बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन् । 

नेपालगन्जको जमुनाहा नाकामा भेटिए दैलेखेको गुराँस गाउँपालिका गोगनपानीका सन्तोष विक । भारत छिर्न तीन दिनदेखि जमुनाहा प्रयास गरिरहेका उनले नयाँ पत्रिकासँग भने, ‘जनताबाट उठेको कर छ, त्यो जनताको पैसा हो । त्यसको सदुपयोग भइदिएको भए नेपालमा असम्भव केही थिएन । हामीले यही देशमा रोजगारी पाउने थियौँ, विदेशीको गुलामी गर्न धाउनुपर्ने थिएन । घरमा बुढाबुढी बाबुआमा र सानो बच्चा छ । यो महामारीको वेला मलाई बिदा गर्दा ती आमा र त्यो बच्चाको आँखाबाट आँसु झरेको छ ।’ यति भनेर उनी धेरैबेरसम्म निःशब्द भए । 

प्रकाशित मिति: : 2020-09-10 08:03:57

प्रतिकृया दिनुहोस्