केही समयअघिसम्म खुलामञ्च जनताको गास, बास र कपासको नारा दिइने क्रान्तिकारी थलोका रुपमा परिचित थियो। मञ्चमा बसेर रोजीरोटीको ग्यारेन्टी गर्ने नेताहरु यति बेला सत्तामा छन्। तर सधै यही मञ्चबाट क्रान्तिकारी भाषण सुन्दै आएका रामेछाप दोरम्बाका ४६ वर्षीय गणेश श्रेष्ठ मंगलबार साँझ भने एक छाक खाना खान यही मञ्चमा लामबद्ध थिए। भारी बोक्ने उनी एकछाक खाना खान लाममा बस्नुपर्दा उदास देखिन्थे।
श्रेष्ठले राजधानी काठमाडौं आएर पसिना बगाउन थालेको डेढ दशकभन्दा बढी भइसक्यो। दशकभन्दा बढी पसिना बगाएको यही सहरमा अहिले उनलाई एक पेट भर्न कठिन भएको छ। ‘भाषणले हैन, भातले पो पेट भरिन्छ’, सामाजिक संस्था ‘हन्ड्रेड समूह’ ले बाड्दै गरेको दालभात हातमा लिएका उनले भने, ‘एक सय किलो बोराको चामल उचाल्ने ज्यान अहिले एकछाक खाना पनि जुटाउन नसक्ने अवस्थामा पुगेको छ।’
श्रेष्ठसँगै एकछाक खान लाममा बसेका महेश कटुवालको अवस्था पनि पीडादायी छ। भारी बोक्ने उनी पनि राजधानी काठमाडौं सहरमा आएर काम गर्न थालेको दुई दशकभन्दा बढी भइसक्यो। यहाँ उनले हरेक सामानको बोझ उठाए। तर यतिबेला कोरोनाको बोझ उठाउन नसक्ने अवस्थामा पुगेको उनी सुनाउँछन्।