साउथ इण्डियन (तेलुगू) चलचित्र उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको निधन भएको छ।
रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा मंगलवार ७४ वर्षको उमेरमा हृदयघातबाट निधन भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।
रेड्डीले सन् १९८८ मा चलचित्र ‘ब्रह्मपुत्रुडु’बाट करियर सुरुवात गरेका थिए। उनी कमेडी क्यारेक्टर कलाकारका रुपमा तेलुगू सिनेमामा निकै चर्चित थिए।
उनले ‘प्रेमिचुकुंदम रा’, ‘गब्बर सिंह’, ‘चेन्नाकेशवारेड्डी’, ‘सीथाया’ र ‘टेम्पर’ जस्ता सयभन्दा बढी लोकप्रिय चलचित्रमा अभिनय गरेका थिए।
अन्तिम पटक सन् २०२० मा प्रदर्शनमा आएको महेश बाबुको चलचित्र ‘सारिलेरू नीकेभवारु’मा उनले अभिनय गरेका थिए।
रेड्डीको निधनमा आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुले शोक व्यक्त गरेका छन्। साउथ स्टार महेश बाबु, प्रकाश राज, जुनियर एनटिआर लगायत कलाकारले पनि गहिरो शोक व्यक्त गरेका छन्।