‘पीसीआर रिपोर्ट खोई ?’
ऊ अलमल्ल पर्यो। गोरो, चिटिक्क परेको तर कालो कपाल मिलाएर कोरेको त्यो व्यक्तिले नेपाली बोल्ला जस्तो उसलाई लागेको थिएन। ऊ कहाँ जाँदै थियो या उसको गन्तव्य कहाँ हो ? त्यसको बारेमा पनि अनभिज्ञ नै थियो।
‘यो पीसीआर रिपोर्ट भनेको के हो हजुर ?’ उसले प्रश्न गर्यो।
उहिले गाउँको मुखियासँग ऋण मागेर बिरामी बाबुको ओखति किन्न कतार जाँदा नेपालको एअरपोर्टमा यस्तै केही मागेको थियो। उसलाई ठ्याक्कै त याद भएन।
पासपोर्ट, भिसा, कम्पनीको चिठ्ठीजस्ता सबै आवश्यक कागजात हुँदा पनि खै के जाति कागज हो मागेर घुरेको थियो त्यहाँको अफिसरले। साह्रै ‘दयालु !’ अफिसरले धेरै दुःख भने दिएन त्यतिबेला। अलिकति डलर खल्तीमा छिराइदिएपछि छाडिदिएको थियो।
‘यहाँ पनि यस्तै पो हो कि ?’ मनमनै यस्तै सोचेर उसले आफ्नो खल्ती छाम्यो। अहँ खल्तीमा त केही छैन।
‘तेरो बाजेको टाउको हो ! सारा मर्त्यलोकलाई नै कोरोनाले घेरेको बेला तँलाइ पीसीआर रिपोर्ट भनेको थाहा छैन ?’ ‘इमिग्रेसन’ को मान्छेले आँखा राता पार्यो।