‘बिरामी हौँला भन्ने हामीलाई पनि डर हुन्छ, बसिखान कसलाई मन हुँदैन ? तर, दिनदिनै ब्रुफिन र निम्स खाएर हिँडिरहेकी छु, दुःख नपाएको भए गाडा डो¥याएर को हिँड्थ्यो ?’ सामाजिक सञ्जालमा सञ्चार भइरहेको एक महिलाको यो आवाज आजका दिनमा देशका ३७ लाख श्रमजीवीको प्रतिनिधि आवाज हो जसलाई निषेधाज्ञाका नाममा घरभित्र बस्न आदेश जारी गरिएको छ, तर ६ महिनासम्म कमाइ नहुँदा चुलो कसरी बाल्ने भनिदिने कोही छैन ।
सामाजिक सञ्जालमा छाइरहेकी यी महिलालाई हामीले किन पछ्यायौँ ? किन उनको आवाज यति महत्वपूर्ण छ ? किनकि, यो देशका तीन करोड जनसंख्यामध्ये दुई करोड आठ लाख मान्छे काम गर्ने उमेरका छन् । तर, तीमध्ये ६० प्रतिशत अर्थात् एक करोड २३ लाखले गरेको काम रोजगारीको परिभाषामै पर्दैनन् । उनीहरूले काम गर्छन्, तर उनीहरूको उत्पादन बजारमा बिक्री हुँदैन । उनीहरूले तलब पनि पाउँदैनन् । रोजगारी गर्ने भनिएका ८० लाखमध्ये ५७ लाख अनौपचारिक क्षेत्रमा छन् । जसको नियमित तलब आउँदैन । महामारीले उनीहरूको जीवनमा आर्थिक विपत्ति ल्याएको छ । उनीहरूका लागि सरकारले आर्थिक प्याकेज ल्याउनुपर्ने हो, तर यति लामो लकडाउनमा कतिले रोजगारी गुमाए भन्ने तथ्यांकसमेत सरकारले संकलन गरेको छैन ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार निर्माण, उत्पादन तथा व्यापारजस्ता कोभिडबाट अत्यन्तै प्रभावित क्षेत्रमा ३७ लाख मजदुर छन् । तीमध्ये १५ देखि २० लाखले रोजगारी गुमाएको वा आंशिक रूपमा आम्दानी गुमाएको आइएलओको भनाइ छ । त्यसमध्ये १३ लाख पुरुष तथा ६ लाख ३१ हजार महिलाको रोजगारी संकटमा परेको छ । तीमध्ये एक हुन् सरस्वती मैनाली ।