सौगात पोखरेल
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा रहेको भुजी खोला*मा आएको बाढीले करिव ७६ घर बगाएको छ । बाढीमा परि ३८ जनालाई खोलाले बगाएको तथ्यांक छ । ती मध्ये १५ जनाको शव भेटिएको छ भने अझै २३ बेपत्ता छन् । १५० परिवार बाढीका कारण विस्तापित बन्नुपरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख सुरेश न्यौपानेले बताए । न्यौपानेका अनुसार बाढीले करिव ५०० जना पुरै विस्तापित बनेका छन् भने ढोरपाटन नगरपालिकाका ६, ७, ८ र ९ वडा प्रभावित भएका छन् ।
भुजीखोलामा आएको बाढीसँगै चारवटा वडा सडक र विद्युत सञ्जालबाट सम्पर्कबिच्छेद भएको छ । बागलुङ बुर्तिबाङबाट ढोरपाटन जाने बाटो पुरै नष्ट भएको छ । बाढीले करोडौँको क्षति भएको अनुमान गरिएको छ ।
बस्तीलाई बाढीले बगर बनाएपछि सरकारी स्तरबाट अनुगमन जानेहरुको भीड पनि उस्तै छ । शुक्रबाट बाढीग्रस्त क्षेत्रको अनुगमनमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा लगायतको टोली बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ मा रहेको मोमला भन्ने ठाउँमा पुगेको थियो । त्यो स्थानबाट मुख्य क्षतिग्रस्त भएको स्थानमा पुग्न करिब तीन घण्टा पैदल हिँड्नुपर्छ । तर गृहमन्त्रीसहितको टोली मोमलामा नै कार्यक्रम गरेर काठामाडौँ फर्किएको छ । स्थलगत अनुगमनमा गएका गृहमन्त्रीलाई नजिकै रहेको एक बस्तीमा लैजान फड्केको व्यवस्था गरिएको थियो । स्थलगत अनुगमनमा गएको टोली मुख्य क्षति भएको स्थानमा नपुगी प्रति मृतक परिवारलाई दुई–दुई लाख दिने आश्वसन दिएर काठमाडौँ फिर्ता भएको हो ।