जन्मदिनको उपलक्ष्यमा पर्यटनमन्त्रीले गरे एसिड पीडित मुस्कानलाई नगद सहयोग

संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिडपीडित किशाेरी मुस्कान खातुनलाई नगद सहयोग गरेका छन्।

मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन्। 

कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ।

उनले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिए। आफुले दिएको रकम बैंकमा जम्मा गर्न र डाक्टर पढ्ने बेला खर्च गर्न आग्रह समेत उनले गरे।

वीरगञ्जकी किशाेरी मुस्कानमाथि ०७६ भदौ २० गते एसिड प्रहार भएकाे थियाे। मुस्कानमाथि माजिद मियाँ र शमशाद मियाँले एसिड प्रहार गरेका थिए। घटनालगत्तै पक्राउ परेका थिए। उनीहरू अहिले पनि प्रहरी नियन्त्रणमा छन्। एसिड प्रहारबाट घाइते भएकी मुस्कानकाे अहिले पनि उपचार जारी रहेको छ।

केही दिन अगाडि खातुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बोलाएर शिक्षाको प्रवन्ध गर्ने वचन दिएका थिए। सचिवालयका अनुसार मन्त्री भट्टराईले २०७२ सालबाट हरेक वर्ष जन्मदिनको दिन असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-09-06 13:04:12

प्रतिकृया दिनुहोस्