खस संस्कृतिमा मस्टो पुजाइ गतिविधि

सांस्कृतिक विविधताले भरिएको कर्णाली अञ्चल खस आर्य र शुद्रको वाहुल्य रहेको क्षेत्र हो। ११औं शताब्दीमा तिब्बतबाट सिंजा आई आफ्नो राज्यको विस्तार गरेका खसको पहिलो राजा नागराज हुन्। नागराजको पालादेखि नै खसहरूले मस्टो परम्परा मानेको इतिहासमा उल्लेख छ।

नागराज र उनका सन्तानले चलाएको मस्टो परम्परालाई हालसम्म जीवित राख्ने काम यहाँका खस, आर्य र शुद्रबाट  भएको छ। प्रकृति पूजाको रूपमा रहेको मस्टो कर्णालीबासीको इस्ट देवता हो।

आपत, विपत, भोक, रोग संकट, व्याधी, महामारी आदि विपत्तिमा इस्ट देवता मस्टोलाई मुल आधार मानी पुजा आजा गर्ने, भाकल गर्ने, दान दिने, वली दिने चलन हालसम्म यथावत् रहेको छ।

यी विविध कार्यले समस्या समाधान हुने  र विपत्तिका हर कार्यबाट उन्मुक्ति पाउने जनविश्वास कर्णालीमा छ। प्राचीन कालमा नै खसहरुले आर्यको सांस्कृतिक परम्परालाई अंगालेका र आफ्नो संस्कार भित्र आर्यलाई समावेश गरेको विभिन्न लेखकबाट जानकारी हुन आउँछ। वर्तमानमा कर्णालीका खस आर्य र शुद्रका संस्कार संस्कृति मिसिएको छ। यहि मिसिएको संस्करलाई स्वीकार्दै आफ्ना काम अगाडि बढाएको पाइन्छ।

हिन्दु र बौद्ध धर्मको विचारबाट प्रभावित भइ त्यसलाई अनुशरण गरि धार्मिक सामाजिक विविधता संरक्षण गरेको पाइन्छ। यसैगरी नागराजबाट सुरु गरिएको मस्टो परम्परालाई वर्तमानसम्म बचाएर सोही अनुसारको रिति, थिति बसाल्नु पनि कर्णालीबसीको मुख्य काम हो। कर्णालीको जुम्ला सिंजालाई राजधानी बनाएर राज्य सञ्चालन गरेका खसले मस्टो परम्परालाई हालसम्म उपहार छोडेर गएका छन्।

सिंजा क्षेत्रमा साविकका ११ वटा गा.वि.स थिए भने हाल ३ वटा कनका सुन्दरी, सिंजा र हिमा  गाउँपालिका  छन्। यी पालिकामा मान्ने मस्टो परम्परा एउटै रहेको छ। यहाँका बासिन्दाको मुख्य धरोहर नै मस्टो हो। यस क्षेत्रका बासिन्दाले बाह्र भाइ मस्टो मान्ने गर्छन्। जस अन्तर्गत थार्प मस्टो, बुडु मस्टो, ढँडार मस्टो, खापर मस्टो, तेडि मस्टो, कवा मस्टो, कालसिल्ता मस्टो, रूमाल मस्टो, गुरो मस्टो, दाह्रे मस्टो, दुधे मस्टो, बाबिरा मस्टो रहेका छन्।

यी इस्ट देवता मस्टोका आफ्नो आफ्नो गाउँ घरमा थान बनाएर पाठ पूजा गरिन्छ। यी बाह्र भाइ मस्टाको वर्षमा चार पटक पूजा गरिन्छ। वैशाख पूर्णिमा, साउन पूर्णिमा, कार्तिक पूर्णिमा र माघ पूर्णिमा मूल रुपमा लिइन्छ।

मस्टोहरु एउटै सन्तानका भाइहरु हुन् भन्ने जनविश्वास छ। विशेष गरि साउन पूर्णिमामा मस्टोको थानमा धुमधामका साथ मेला लगाइन्छ। एउटा मस्टाको दुई वटा थान हुन्छन्। एउटा घर थान र अर्को वन थान।

मेला लाग्ने दिनको अघिल्लो राती घर थानमा आगो बाली रातभर खडाती गर्ने, जाग्राम बस्ने, रात बिताउने गरिन्छ। त्यो समयमा बाजा बजाएर मस्टोको अवतार धामीझाँक्रीमा हुन्छ। घर थानमा भारा (घण्टा शंख र विविध धातुका सामग्री) शुद्ध पारि विधिसम्मत तरिकाले पूजापाठ गरिन्छ।

कयौं कोष टाढाबाट तिर्थयात्रीहरू मेला हेर्न आउँछन्। धामीझाँक्रीमा मस्टो अवतार भैसकेपछि आफ्नो भूत, वर्तमान र भविष्य हेराउने गरिन्छ। आफ्नो पिर, वेथा, वेदना, चोरी, डकैती जस्ता विविध समस्या धामीका माझ पोख्ने र धामीले त्यसको सबै समाधानका निम्ति मस्टो सधैं तत्पर भएको आश्वासन दिन्छन्। बीच बीचमा बाजाको तालमा धामीहरू लामो समयसम्म हातमा घण्टी र चौर फुर्को (चौरिको पुच्छर) लिएर नाच्ने गर्छन्।

मस्टो धामीझाँक्रीको शरीरमा चढेपछि कोही आगोमा नाच्ने, कोही कराइको तातो तेल पिउने, कोही चामल माडेर सिकापाती (तिलक) निकाल्छन् भने कोही घण्टी भित्र भएको फलामको रालो निल्ने जस्तो आश्चर्यजनक कार्य गर्छन्। यसले पनि मस्टो प्रति विश्वास रहि आएको छ।

मस्टोहरुको नाच फरक, फरक बाजाको तालमा हुन्छ। बाह्र भाइ मस्टाका १२ भन्दा बढि ताल हुन्छन्। ती आफ्नो आफ्नो तालमा नाच्ने गर्छन्। एक मस्टोले अर्को मस्टोलाई बाजाको तालमा नच्न सहयोग गर्छन्। धामीझाँक्री एक आपसमा अंगालो हालेर भाइचारा रुपमा रमाइलो तवरले नाचेको आम मानिसले रसास्वदन गर्छन्।

भोलिपल्ट घर थानबाट वन थानमा पूजाआजा गरिन्छ। त्यस दिन वन थानमा हजारौं भक्तलु दर्शकहरुको भिड हुन्छ। वन थानमा बोकाको बली दिने, पुरी बनाउने, खिर पकाउने, विभिन्न मिष्ठन्न परिकार पकाएर देवतालाई चढाइ पाठ पूजा गरि बाँडिचुडी खाइन्छ।

मस्टो अवतार भएपछि दिनभर धामीझाँक्री नाच्ने नव आगन्तुकको भूत वर्तमान र भविष्य हेराउने, मानिसको थामी नसक्नु भिड हुन्छ। हेरएका भक्तालुहरु चित्तबुझ्दो भएमा खुसी हुन्छन् त कोही चित्त नबुझेका निराश भएर फर्किन्छ्न्। फेरि अर्को पूर्णिमाको पर्खाइमा समस्या समाधान हुने आशामा हुन्छन्।

मेला लागेको वन थानमा केही आर्थिक उपार्जनको लागि विभिन्न खाले फलफूल, खाजा, नास्ता, चाउचाउ, विस्कुट आदि बिक्रीवितरण गर्छन्। केटाकेटी साली, भिनाजु, आफन्त, साथी, भाइ, दिदीबहिनीको यसै दिन भेट्घाट, सम्बन्ध विस्तार, वर्ष पछिको मायाजाल साटासाट हुन्छ।

सालीले भिनाजुलाई, केटीले केटालाई घरबाट ल्याएका रोटी, काँक्रो, स्याउ आदि दिने र पुरूष पक्षले महिला पक्षलाई चाउचाउ, बिस्कुट किनेर दिने प्रचलन हालसम्म कायम छ। यो प्रचलनले पैठ मेलालाई थप रोचक र आकर्षक बनाउने काम गरेको छ।

धामीले पडेली भन्ने, खाम (भोटे जातिको भाषा) गर्ने, ४० अध्याय वेदको मौखिक वाचन गर्ने, आफ्नो नरको भविष्य हेर्ने जस्ता यावत क्षेत्रका रहस्यमय तान्त्रिक विद्याका माध्यमबाट व्यक्त गर्छन्। यो सबै शिरोपर्य गर्न यहाँका मानिसको मूल धर्म हो।

धामीझाँक्रीले लामो समय देखिको विवाद मुद्दा, समस्या, पानी बाराबार आदि समाधान गरि न्यायाधीशको कार्य पनि गर्छन्। एक आपसी सम्बन्ध स्थपित गराउने, ऐन नियम र केही आफ्नो चरन स्थापित गरि नरलाई सुमार्गमा हिंड्न मार्गनिर्देशन गर्नु मस्टोको मुल कार्य हो।

यस दिनमा धामीझाँक्रीहरु केही समय थान बाहिर चौरमा आएर नाच्ने र केही समय थानभित्र गाथमा बसी अन्य काम गर्छन्। धामीझाँक्रीका तीन, चार दशकदुखि पालेको लठो (कपाल) हुन्छ। त्यस लठोमा कसैले सुन लगाएको हुन्छन् भने कसैले चाँदीले मुडेका हुन्छन्। धामीझाँक्री नाच्ने बेला मात्रै लठो खोल्ने र अन्य समयमा त्यसलाई छोप्नका लागि भित्र टोपी र बाहिर टाउकोमा पद्दुन्नीले बेरेर छोपिएको हुन्छ।

लठोलाई विशेष प्राथमिकता दिइएको हुन्छ। कसैले लठो छुनुपर्‍यो भने यसलाई शिरोपर गरि, नमन गरि छुने प्रचलन छ। जुन मस्टाको पैठ हो सोही मस्टाको धामी त्यो दिनको मूल धामी हुन्छ। अरु सहायक धामी हुन्छन्।

थानमा पूजा गर्न धामी, डाँग्री, पूजारी र खावा चार जनाको पदीय मन्डल हुन्छ। धामीले नाच्ने र हेराउने, पूजारीले पूजा गर्ने, डाँग्रीले भित्री काम गर्ने र खावाले सरसफाइ र सामन ओसारपसार गर्ने आफ्नो आफ्नो काम गर्छन्।

सबैको भूमिका महत्त्वपूर्ण भए पनि यो दिनको मूल आकर्षक पात्रको रुपमा धामीझाँक्री नै हुन्छ्न्। पैठका धामीसँग सम्बन्धित गीत यस्तो छ।

जन्त राम्रा बेहुला बेहुली पैठ राम्रा धामी।

टाढाबाट धामी हेर्न पुगिसक्यौं हामी।।

यसैगरी दिनको ३/४ बजे तिर पूजा आजाको काम सम्पन्न भएपछि धामीमा भएको अवतार मस्टाले छोड्छ र धामीझाँक्री सामान्य स्थितिमा फर्कन्छ्न्। सामन्य नर नारी जस्तै हुनछन्। टाढा टाढाबाट आएका महिला, पुरुष, पाहुना, स्थानीय, धामीझाँक्री सबै जना देउडा खेलमा जोडिएका हुन्छन्।

प्रश्नोत्तर शैलीमा खेलिने देउडा खेलमा गोलो घेराभित्र हातमा हात र काँधमा काँध जोडेर देउडा खेलिन्छ। त्यो देउडा हेर्न र सुन्न बुढा, बुढी, केटाकेटी, युवा युवती, पौढ ध्यानपूर्वक आस्वाद्न गरिरहेका हुन्छन्।

कनकासुन्दरी  - ७ देहारपाटामा रहेको थार्प मस्टाको पैठमा देउडा खेलाडी बीचको सवाल जवाफलाई निम्नानुसार उल्लेख गरिएको छ।

समूह कः

सालसालै बेसाह गरि हाम्मा जौ लिदाछौ।

लाइकन ढल्कन्या टोपी यसै डौलिदाछौ।।

समूह खः

कल्ले गर्‍यो ठिक्क ठाक्क नलगाओ फुर्ती।

रूपैयाँ हालेर लियौ तुम्मा बाउका बुर्की।।

यस्तै केटा र केटी बीच भएको देउडा सबाल जवाफ यस्तो छ।

केटाः

मेरि प्यारी अब तलाई कहिले म भेटुँला।

गाली माम खाइकन तेरो तिर्सना मेटुँला।।

केटीः

पारी वन घाँस काट्न्या छु ताँइ आया भेटौला।

दिन भरी पिरती लाउला तिर्सना मेटौला।।

यस्तै यस्तै सवाल जवाफ गरेर अवेरसम्म देउडा खेल खेलिन्छ। खेल सकिएपछि सबै आफ्नो घरतिर लाग्छन्। धामी, डाँग्री, पूजारी, खाबालाई घर थानसम्म बाजा बजाएर सम्मानका साथ पुर्‍याउँछन्।

यो प्रचलनमा वर्तमान कोभिड-१९ को महामारी र १० वर्षको जनयुद्वले ठूलो क्षति पुर्‍यायो। महामारी पूर्ण रूपमा अन्त्य भएपछि आशा छ, रोकिएको सबै काम सुरु हुनेछन्।

यो पनि हेर्नुहोस्

जस्ताका छाना हुँदा, धनी बनेका मष्टाका थान

प्रकाशित मिति: : 2020-09-06 12:17:00

प्रतिकृया दिनुहोस्