कंगनाविरूद्ध मुम्बईको प्रहरी चौकीमा दुईवटा उजुरी

मुम्बई प्रहरीविरूद्ध विवादीत ट्वीट गरेको आरोपमा अभिनेत्री कंगना रनौटविरूद्ध मुम्बईको खार र आजाद मैदान पुलिस स्टेशनमा उजुरी परेको छ। 

खारमा सन्तोष देशपाण्डे नाम गरेका व्यक्ति तथा आजाद मैदानमा कांग्रेसी कार्यकर्ता निजामुद्दीन रेयानले उजुरी दर्ता गरेका छन्। 

उजुरी दर्ता गरेका सन्तोषले शनिबार भने, ‘मैले अभिनेत्रीविरूद्ध अनलाइनबाट उजुरी दर्ता गरेको छु। उनको बयानले महाराष्ट्रको गौरव मानिएको प्रहरीलाई बदनाम बनाएको छ।’

कंगनाको ट्वीटलाई लिएर शिवसेना सबैभन्दा बढी आक्रामक देखिएको छ। शिवसेनाको महिला संगठन शनिबारदेखि नै कंगनाको विरोधमा उत्रिएका छन्। 

तर, महिला आयोगले कंगनालाई मुम्बई प्रवेशमा रोक लगाउने शिवसेनाका नेता सञ्जय राउतको बयानप्रति स्पष्टीकरण माग गरेको छ। 

कंगनाले अर्को ट्वीट गर्दै आफूलाई २००८ मा ‘मुभी माफिया’ ले ‘साइको’ घोषित गरेको आरोप लगाएकी छिन्। उनले २०१६ मा पनि आफूलाई चुडैंल भनेको र २०२० मा महाराष्ट्रका एक मन्त्रीले ‘हरामखोर’ भनेर बेइज्जती गरेको आरोप लगाइन। 

कंगनाले केही समयअघि एउटा ट्वीटमा आफूलाई ‘मुभी माफिया’ भन्दा बढी मुम्बई प्रहरीको डर लाग्ने गरेको बताएकी थिइन। उनले मुम्बईमा आफूलाई हिमाचल प्रदेशको प्रहरी वा केन्द्र सरकारले सुरक्षा प्रदान गरोस् भनेर आग्रह गरेकी थिइन। उनको यो भनाईले राजनीतिक रंग लिन थालेको छ। 

उनको बयानलाई चुनौति दिँदै राउतले मुम्बई नआउन धम्की दिएका थिए। तर, कंगनाले शिवसेना नेता राउतलाई विवादमा तान्दै प्रश्न गरेकी थिइन, के मुम्बई पाकिस्तानले कब्जा जमाएको काश्मिर (पिओके) भइसक्यो?

यसपछि महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले कंगनालाई मुम्बई नआउन धम्की दिएका थिए।

प्रकाशित मिति: : 2020-09-06 11:34:45

प्रतिकृया दिनुहोस्