तनहुँमा सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति

तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाले यही आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।

क्षमता अनुसार मात्र यात्रुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिइ बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

गृह मन्त्रालय र छिमेकी पालिकाले तोकेको विषयमा सोहीबमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको छ ।

नगरपालिकाले कोभिड–१९ को जोखिम समुदायस्तरसम्म नपुगोस् भनी सर्वपक्षीय सहमतिमा पहिलो पटक १ भदौदेखि ७ गतेसम्म र दोस्रोपटक ८ भदौदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो।

१३ भदौदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन २० भदौसम्म बन्द गर्ने निर्णय भएको थियो । सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि कोरोना भाइरसको अन्त्य नभएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ । - रासस

प्रकाशित मिति: : 2020-09-05 21:45:31

प्रतिकृया दिनुहोस्