कर्फ्यु बीच यसरी हुँदैछ रातो मत्स्येन्द्रनाथमा क्षमा पूजा

शनि शाक्य

ललितपुर

जारी कर्फ्यूबिच रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिँदैछ। बिहीबार रथ तान्न खोज्ने स्थानीयलाई कोरोना संक्रमणको जोखिमका कारण प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो। 

त्यसपछि बिहीबार साँझ अबेरसम्म जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले आज क्षमा पूजा गर्ने तथा आइतबार सोह्रखुट्टे पाटीसम्म रथ तानेर संक्षिप्त विधिबाट बाँकी प्रक्रिया पूरा गर्ने निर्णय गरेको थियो। 

जिल्ला प्रशासन कार्यालय ललितपुर, जात्रा व्यवस्थापन कार्यदल, ज्यापू समाज, ललितपुर महानगरपालिका, स्थानीय १९ जातीय समूहहरू (खलः पुचः), गुठी संस्थान लगायत अन्य सरोकारवालाको बैठकले त्यस्तो निर्णय गरेको थियो। 

कर्फ्युकै बीच सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा क्षमापूजा गरिएको हो।

बिहान साढे ११ बाट क्षमापूजा शुरु भएको हो।

गत वर्षहरूमा पुल्चोकबाट शुरू हुने रथ यात्रा गाः बाहल–सुनधारा–लगनखेल–इती टोल हुँदै जावलाखेल पुग्थ्यो। त्यहाँ भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइन्थ्यो। रथ भने हरेक १२ वर्षमा एकपटक मात्र बुङमती पुराइन्थ्यो।

बुंगद्य: जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार  यसपटक रथलाई पुल्चोकबाट घुमाएर जावलाखेलसम्म पु¥याइने कार्यलाई संक्षिप्त विधिबाट पूरा गर्न लागिएको हो। त्यसका लागि आइतबार २१ भदौमा अहिले रथ रहेको स्थानबाट करीब पाँच मिटर जस्तो उत्तरपट्टी रहेको पुल्चोकस्थित सोह्रखुट्टे पाटी पुराइनेछ। 

त्यसको अर्को दिन साइत हेरेर प्राप्त हुने दिनमा (सम्भवतः २६ भदौमा) रातो मस्त्येन्द्रनाथ बुङ्मती प्रस्थान गराइने संयोजक महर्जनले बताए। विगतका वर्षहरूमा भोटो देखाएपछि खटमा राखेर मत्स्येन्द्रनाथलाई बुङमती पुर्‍याइएजस्तै यसपटक पुल्चोकबाटै खटमा राखेर बुङमती लगिनेछ। 

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ कोरोना महामारीका कारण पुल्चोकमा राखिएको महिनौ भइसकेको छ।

प्रकाशित मिति: : 2020-09-04 13:43:55

प्रतिकृया दिनुहोस्