सागर चन्द
राजधानीको टुँडिखेल यस्तो साक्षी हो जसले पटकपटकका राजनीतिक परिवर्तन देखेको छ, यो देशबाट गरिबी र भोकमरीको युग समाप्त भएको उद्घोष पनि पटकपटक सुनेको छ । तर, गरिबको नाममा टुँडिखेलमा भाषण गर्नेहरू नै सिंहदरबारमा भएको वेला टुँडिखेल भोका जनताको अभूतपूर्व जमघट देख्न विवश भएको छ । हो, महामारीको भय र निषेधाज्ञाको कानुनबीच पनि सयौँ नागरिक खुलामञ्चमा एकछाक खानाको पर्खाइमा बस्छन् । तर, त्यहीँ वरिपरिबाट झण्डा फहराउँदै तुफान गतिमा गाडी कुदाउने कुनै पनि दलका कुनै पनि नेताले अहिलेसम्म टुँडिखेलभित्र चियाएर हेरेका पनि छैनन् ।
अपराह्न ३ बजेदेखि चहलपहल हुन थाल्छ । ४ बजेसम्म त खुलामञ्च लगभग भरिन्छ । चर्को घाम होस् वा मुसलधारे पानी, खुलामञ्चको आँगनमा आज्ञाकारी बालकजस्तै चप्पल, झोला ओछ्याएर लहरै बस्छन् मान्छेहरू । दिनमा एक छाक खाना, उनीहरूको जीवनरेखा यही हो ।