१० करोडको भेन्टिलेटर खरिदमा भ्रष्टाचारको गन्ध !

अनलाइनखबर

काठमाडौँ

सागर बुढाथोकी

 कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा विवादित बनेको सरकारले भेन्टिलेटर लगायतका उपकरण खरिदमा अर्को शंकास्पद बोलपत्र तयार गरेको छ ।

सरकारले खरिद गर्न लागेको भेन्टिलेटरलगायत १० करोडको स्वास्थ्य सामग्रीसम्बन्धी बोलपत्र तयार पार्दा नेकपा निकटको एउटा कम्पनीलाई मात्र ठेक्का पर्ने गरी ‘स्पेसिफिकेसन’ बनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले ११ भदौमा १० करोड रुपैयाँ बराबरको लागत अनुमान राखेर २२ वटा भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमितहरुको संख्या बढेपछि सरकारले २२ वटा भेन्टिलेटर, ५० वटा मनिटर र २० वटा वाइप्याप मेसिन खरिद गर्न लागेको हो । त्यसका लागि १० दिनको म्याद दिएर सूचना निकालेको एकहप्ता नाघिसकेको छ ।

तर, बोलपत्रमा तोकिएको भेन्टिलेटरको स्पेसिफिकेसन, फिलिप्स कम्पनीले उत्पादन गरेको भेन्टिलेटरको स्पेसिफिकेसनसँग हुबहु मिलेको छ ।

भेन्टिलेटरको प्रकार (मोड), डिस्प्लेड प्यासेन्ट पारामिटर्स र अलार्मको प्राविधिक स्पेसिफिकेसन, फिलिप्स कम्पनीको भेन्टिलेटरको क्याटलगबाट हुबहु सारिएको छ ।

प्रकाशित मिति: : 2020-09-03 18:07:39

प्रतिकृया दिनुहोस्