बाल शिक्षा : अंकुराउन नपाउँदै कोरोना

अनलाइनखबर

काठमाडौँ

नोवेल कोरोना भाइरस (कोभिड-१९) लक्षित लकडाउन तथा निषेधाज्ञाबाट बढी प्रभावित क्षेत्रमध्ये एक हो, शिक्षा । शिक्षा क्षेत्रमा कोरोना कहरको चर्चा गर्दा अक्सर विश्वविद्यालय र विद्यालय तहमा परेको प्रभावमा केन्द्रित भइरहेका हुन्छौं । तर, सिकाइका हिसाबले सबैभन्दा संवेदनशील उमेर समूह पढ्ने नर्सरी, केजी, मन्टेसरी लगायतका प्रारम्भिक बाल शिक्षाका विषयमा भने राज्यको ध्यान जान नसकेको शिक्षाविदहरू बताउँछन् ।

‘कोरोनापछि प्रारम्भिक बाल विकास शिक्षा पुरै ओझेलमा परेको छ’, शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, ‘सरकारले पनि त्यो उमेर समूहलाई वेवास्ता गरे जस्तो लाग्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार २०७६ सालमा देशभरि ११ लाख ३१ हजार ९१ बालबालिकाले प्रारम्भिक बाल शिक्षाका लागि नाम दर्ता गराएका थिए ।

तथ्यांक विभागका अनुसार नेपालको दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय जना छ । विभागको आँकडाअनुसार वृद्धि भएको संख्या नजोड्दा पनि लकडाउन वा निषेधाज्ञाका कारण प्रारम्भिक बाल शिक्षाबाट बञ्चित बालबालिका कम्तिमा ११ लाख हुन्छ ।

युनिसेफले नेपालसहित १०० वटा देशमा हालै गरेको दूर शिक्षामा पहुँच योग्यता -दि रिमोट लर्निङ रिच्याबिलीटी) प्रतिवेदनमा पुर्व-प्राथमिक तहका विद्यार्थी मध्ये १२ करोडलाई दुरशिक्षामा समेट्न नसकेको उल्लेख छ ।

प्रकाशित मिति: : 2020-09-03 15:16:45

प्रतिकृया दिनुहोस्