अञ्जना राजभण्डारी
जुलाई २०१९ मा ३६ वर्ष लागेकी थिएँ र म मेरो पहिलो महीनावारी भएको दुई दशकपछि ‘महीनावारी अपवित्र हुँदैन भनेर मलाई विश्वास गर्न कति गाह्रो लाग्ने गर्दथ्यो’ भनेर लेख लेखिरहेकी थिएँ ।
नेपालको नेवार हिन्दू परिवारमा हुर्कंदा मैले के कुरा स्वीकार गरें भने महीनावारी भनेको फोहोर हो । महीनावारीसँग जोडिएका विभिन्न प्रतिबन्धहरू नेपाली महिलाहरूको मनमा बसेका छन् । महीनावारीकै कारण काठमाडौंमै भएको नजिकैको नातेदारको विवाह मैले टाढैबाट हेरेर चित्त बुझाउनु परेको थियो ।
छाउपडीको अभ्यास अन्तर्गत मासिक रूपमा महिलालाई छाउगोठमा राखिनु यो अन्धविश्वासको चरम रूप हो तर केही शिक्षित र सम्पन्न परिवारमा समेत नछुने आजसम्म पनि आम रूपमा अभ्यास गरिन्छ ।
कसैलाई लाग्ला कि अमेरिकामा बसेर, दह्रो आत्मबल र सकारात्मक दृष्टिकोण भएका महिलाहरूलाई प्रेरणा मानेर महीनावारी सम्बन्धी मेरो व्यवहारमा परिवर्तन आउनुपर्ने हो, तर ममा यस्तो भएन ।
मेरो मस्तिष्कमा महीनावारीप्रतिको विश्वास यस्तरी गढेको रहेछ कि औषधि पसलमा ट्याम्पन किन्न जाँदा मलाई अझै पनि असहज महसूस हुने गर्दछ । नछुने भएका चार दिनमा म तीन हिन्दू भगवानलाई अझै पनि धूप बाल्ने गर्छु । महीनावारी हुँदा रुद्राक्षको माला पनि लगाउँदिनँ ।
२०१९ को अन्त्यतिर मैले महीनावारी नियमित होस् भनेर खान निर्देशित गरिएका हर्मोनहरू नखाने विचार गरें– र, मेरो महीनावारी बन्द भयो ।