६ महिनाभित्र १२ करोड खर्च गरी ८ लेनको सडक निर्माण हुने दाबी

सरकारले अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको दायाँ बायाँ दुवैतर्फ सडक विस्तार कार्य सुरु गरेको छ ।

सवारीसाधनको अधिक चापका कारण सधै जस्तो घण्टौं जाम हुने कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सोमबारबाट सुरु भएको हो । सडक विस्तार कार्य सम्पन्न भएपछि घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने त्यहाँ प्रवेश गर्ने सवारीको संख्या पनि ३० प्रतिशतभन्दा धेरै कटौती गर्ने योजना छ ।

सोमबार अनुगमनका लागि सो सडक खण्डमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले दक्षिणतिर दुई लेन र उत्तरतिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको जानकारी दिए । उनले २ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारीका लागि प्रयोग हुने र बीचका ४ लेन सिधै कोटेश्वर—जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको बताए ।

सडक विभागअन्तर्गत काठमाडौं डिभिजन कार्यालयले सडक विस्तारको काम सुरु भएको हो । छ महिनाभित्र उक्त खण्ड सम्पन्न हुने गरी काम सुरु भएको उल्लेख गर्दै मन्त्री नेम्वाङले जडिबुटी क्षेत्र आसपासमा रहेका निजी घरलाई मुआब्जाको व्यवस्था गरिने पनि बताए ।

मन्त्री नेम्वाङले कोटेश्वर—जडिबुटी सडकमा देखिएको दैनिक जाम समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेको जनाउँदै उनले अल्पकालीन योजनाका रूपमा डेडिकेटेड लेन बनाउने सुरु भएको र दीर्घकालीन योजनाका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा अन्डरपास निर्माण गर्ने गरी काम अगाडि बढेको समेत बताए ।

यता, सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले सतप्रतिशत जाम कम गर्न नसकिए पनि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि हट्ने दाबी गरे ।

उनले भक्तपुर पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि जाममा बस्नुपर्ने अवस्था नहुने पनि बताए । उनले परिस्थिति सहज भए कम्तीमा ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको बताए ।

कोटेश्वर—जडिबुटी खण्डको सडक निर्माणका लागि यसै साता ठेक्का प्रकिया अगाडि बढाउने गरी तयारी भएको पनि सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख नेपालीले बताए । उनले करिब १२ करोड रुपैयाँ लागतमा सडक विस्तार गर्ने गरी योजना बनाएको समेत जानकारी दिए ।

प्रकाशित मिति: : 2020-09-01 18:14:37

प्रतिकृया दिनुहोस्