सन् २००९ मा म बेङ्लोरको इन्डियन इन्सिच्युट अफ साइन्स (आईआईएससी) बाट बायो– टेक्नोलोजी विषयमा मास्टर्स गरिरहेको थिए। इन्टर्न गर्न राजधानी दिल्लीको एम्स अस्पताल जानुपर्ने भयो।
नेपाल हुँदा नेपाली कांग्रेसको विधार्थी राजनीतिमा सक्रिय थिए। त्यसैले स्वभावत मलाई राजनीतिमा पहिलेदेखि नै चासो थियो। लामो समय दिल्ली बस्नुपर्ने कारण मलाई एकदिन लाग्यो, किन भारतीय विदेश मन्त्रीलाई नभेट्ने। त्यतिबेला विदेशमा मन्त्रीहरूलाई कसरी भेट्नुपर्छ मलाई थाहा थिएन। हो, नेपालमा भने सहजै भेट्न पाइन्थ्यो। सायद विधार्थी राजनीतिमा सक्रिय भएर होला।
यतिबेला भारतका विदेश मन्त्री थिए, प्रणव दा (मुखर्जी)। मैले उहाँलाई यही नामले बोलाउने गर्थे। मलाई प्रणव दासँग किन पनि भेट्न मन लागेको थियो भने उहाँ एकेडेमीक त हुनुहुन्थ्यो नै, नेपालप्रति उहाँको विशेष सम्मान पनि थियो। फेरि इन्दिरा गान्धीको पालादेखि भारतीय कांग्रेसको राजनीतिमा सक्रिय भएका कारण त्यतिबेलाको मन्त्री मण्डलमा सबैभन्दा अनुभवी र सिनियर मन्त्री हुनुहुन्थ्यो।
प्रधानमन्त्रीको पदमा मनमोहन सिंह आसिन भएपनि मनमोहन सिंह प्रणव दालाई सर भनेर सम्बोधन गर्थे। यो वास्तवमै प्रणव दाको राजनीतिक उचाईंको घोतक हो। राजीव गान्धी प्रधानमन्त्री हुँदा प्रणव दाले नै मनमोहन सिंहलाई योजना आयोगको उपाध्यक्ष बनाउनु भएको थियो। त्यही बेलादेखि मनमोहन सिंहले प्रणव दालाई सर भनेर बोलाउन थालेका हुन्।
दिल्लीमा प्रणव दालाई पहिलो पल्ट भेट्ने चाजो मिलाउँदा मलाई लागेको थिएन सहजै भेट हुन्छ भनेर। मैले एक जनाबाट उहाँको पीएको नम्बर फेला पारेको थिए। उनलाई फोन गरेर मैले आफू नेपालबाट आएको र प्रणव दासँग भेट्न मन लागेको कुरा बताए। यसपछि उनले पछि खबर गर्छु भनेर फोनको स्विच काटें। मलाई लागेको थिएन। उनले पुनः फोन गर्छन भनेर।
तर, अचम्म भयो। प्रणव दाका पिएले केही समयपछि फोन मात्र गरेनन्, मलाई मन्त्रालय आउन निम्तो गरें। यो मेरो लागि ठूलो कुरा थियो।
म उनले बोलाएको समयमा मन्त्रालय पुगेको थिए। यहाँ सुरक्षाकर्मीले मलाई विदेश मन्त्रीको च्याम्बरमा लैजादै गर्दा मेरो मुटु अलिअलि ढुकढुक भएको थियो। एउटै फोनमा भारतको विदेश मन्त्रीसँग भेट पाउँछु भन्ने मलाई रत्तिभर लागेको थिएन। त्यसैले म अलिकति नर्भस पनि थिए।
तर, च्याम्बरमा प्रणव दाको हँसिलो अनुहार देखेर मेरो मन नै प्रफुल्लित भयो। मैले केही बोल्नुअघि नै उहाँले सोध्नुभयो– ‘हाउ आर यू यङ ब्वाई?’
उहाँसँग कुरा गर्दै जाँदा मैले चाल पाए, उहाँले वास्तवमा मलाई नेपाली भनेर समय दिनु भएको रहेछ। नेपाल र नेपाली प्रति उहाँको अलग्यै मोह थियो।
मेरो उमेरदेखेर उहाँ कन्फ्युज पनि हुनुभयो। उहाँलाई लागेको रहेछ, भेटन आउने मान्छे अलि पाको उमेरको होला। तर, मेरो उमेर त्यतिबेला २५ वर्ष मात्र थियो।
उहाँले भन्नुभयो–‘तपाई युवा हुनुहुँदो रहेछ। खुब पढ्नुस्। आफ्नो देशको लागि केही गर्नुपर्छ।’ उहाँको त्यो भनाई सुनेर मेरो आत्मविश्वास नै कहाँ पुग्यो पुग्यो। सायद म त्यति ‘कम्फर्ट’ हुन सकिरहेको छुइन भन्ने उहाँलाई लाग्यो होला। उहाँले पढाईको विषयमा सोध्नु भयो। नेपाल र भारतको सम्बन्धलाई अझैं प्रगाढ कसरी बनाउन सकिन्छ भनेर चिन्ता व्यक्त गर्नुभयो। रमाइलो कुरा, उहाँले नेपालका दुई राजनीतिज्ञको बारेमा सोध्नुभयो–‘रामवरण यादव र माधव नेपालको हालखबर कस्तो छ?’
उहाँले रामवरणसँग आफूले बंगालीमा कुरा गर्ने गरेको पनि सुनाउनु भयो। मलाई रमाइलो लाग्यो। आफ्नो देशको नेताहरूको विषयमा उहाँको मुखबाट कुरा सुन्दा। मलाई उहाँसँग भेट्न ५ मिनेटको मात्र समय छुट्टयाइएको थियो। तर, उहाँले त्यस्तो व्यस्त समयका बावजुद २० मिनेट गफ गर्नुभयो। र, छुट्टिने बेला आफ्नो पिएसओलाई बोलाएर भन्नुभयो, ‘उहाँको नम्बर टिप्नु। कुनै पनि बेला उहाँले मलाई भेट्न चाहनु भएको खण्डमा तुरुन्त समय मिलाई हाल्नु।’
मेरो लागि त यो ठूलो कुरा थियो। उहाँको बिनम्रता देखेर म पहिलो दिन नै मोहित भए। फेरि नेपाली प्रतिको प्रेम देखेर सम्मान बढेर आयो।
सन् २०१३ मा उहाँसँग दोस्रो पल्ट भेट भयो। त्यो भेट निकै रोचक थियो। म फेरि कामको सिलसिलामा तीन दिनका लागि दिल्ली गएको थिए। उहाँ भारतको राष्ट्रपति नियुक्त भइसक्नु भएको थियो। मैले दिल्ली पुग्ने वित्तिकै उहाँको पिएसओलाई फोन गरे। उसले तुरुन्त फोन उठायो र भन्यो– हामी त अहिले अहमदाबाद विश्वविधालयको दीक्षन्तमा सहभागी हुन गुजरात आइपुगेका छौं। राती मात्र दिल्ली फर्किन्छौं।’
मैले आफू दुई दिनका लागि दिल्ली आएको र सोमबार बिहान नेपाल फर्किहाल्ने बताए। उसले यसपालि प्रणव दासँग भेट नहुने बतायो। मैले सोधें–किन?
उसले भन्यो–भोली आइतबार हो। आइतबार राष्ट्रपतिले कसैलाई भेट्नु हुन्न।
त्यही पनि मैले उनलाई म आएको जानकारी दिन अनुरोध गरें। उसले हुन्छ भन्यो। केही समयपछि फेरि फोन आयो–आइतबार साँझ राष्ट्रपति भवन आइपुग्नु। तपाईको मिटिङ तय गरिएको छ।
यो मेरो लागि ठूलो सरप्राइज थियो। आइतबार कसैलाई नभेट्ने भारतका राष्ट्रपतिले मलाई राष्ट्रपति भवनमा निम्तो दिएका छन्। यतिबेला प्रणव दासँग दुई घण्टा गफ भयो। उहाँ नेपालको विषयमा निकै चिन्तित हुनुहुन्थ्यो।
एउटा कुराको खुलासा उहाँले मसँग त्यही गर्नुभएको थियो। त्यतिबेला भारतीय कांग्रेसको पराजय भएर भारतीय जनता पार्टीको सरकार बनिसकेको थियो र प्रधानमन्त्री नरेन्द्र मोदी थिए।
मोदीको पहिलो कार्यकालमा नेपालमा सन् २०१५ मा नाकाबन्दी भएको थियो। प्रणव दा नेपाललाई ‘नाकाबन्दी’ गरेको कुरामा खुसी हुनुहुन्थेन। उहाँले प्रधानमन्त्री मोदीलाई बोलाएर स्पष्ट भन्नु भएको रहेछ–‘जसरी नेपाललाई भारत नभई हुँदैन। त्यसरी नै भारतलाई नेपाल नभई हुँदैन। नेपाल सार्वभौम राष्ट्र हो। उसले लिने निर्णयमा हामीले हस्तक्षेंप गर्नु हुँदैन। नेपालसँग भारतको एउटा मात्र आयाम छैन। बहुआयम छ। त्यसैले नाकाबन्दीले दुई देशको सम्बन्ध झन् खराब हुँदै जानेछ।’
प्रणव दाले नाकाबन्दीका कारण नेपाल–भारत सम्बन्धमा पर्ने दूरगामी असरको विषयमा भारतीय प्रधानमन्त्रीलाई चेतावनी दिएपछि सरकारले नाकाबन्दीको निर्णय फिर्ता गरेको थियो।
प्रणव दा राष्ट्रपति हुँदा थुप्रै पल्ट उहाँसँग भेटघाट भयो। राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि पनि पटकपटक भेट भयो। उहाँ हरेक पल्ट नेपाल–भारतबीच बिग्रिन थालेको सम्बन्धका कारण निकै चिन्तित हुनुहुन्थ्यो। उहाँले विश्वविख्यात कोलकाताको जाधवपुर विश्वविधालयबाट मलाई पीएचडी गर्न ठूूलो सहयोग पु¥याउनु भयो। हरेक पल्ट भेट्दा उहाँ मलाई मेरो नातिको उमेरको छस् भन्नु हुन्थ्यो र अध्ययन तथा अनुसन्धानमा लाग भन्नु हुन्थ्यो।
गत वर्ष ११ डिसेम्बरमा उहाँको ८४ औं जन्मदिनमा शुभकामना दिन कोलकातास्थित घर पुग्दा बाहिर उहाँका शुभचिन्तकहरूको ठूलो भिड थियो। तर, उहाँले स्नेह गरेर मलाई कोठामा लानुभयो। उहाँको स्वास्थ्य अवस्था खस्किसकेको थियो। उहाँले मलाई दिल्लीमा भेट्न भन्नु भयो।
म १५ मार्च २०२० मा उहाँलाई भेट्न दिल्ली पनि गएको थिए। थाहा पाए, उहाँ लड्नु भएको रहेछ। उहाँलाई भर्खरै अस्पतालबाट घर फर्काइएको रहेछ। डाक्टरहरूले उहाँलाई आराम गर्न सुझाव दिएका थिए। उहाँको घरबाट फोन आयो–केही दिनपछि भेट्न घर आउँदा हुन्छ। तर, त्यसैबेला भारतमा कोरोनाको महामारी बढ्न थाल्यो र म उहाँसँग नभेटि नेपाल फर्किए। सोमबार उहाँको निधनको खबर सुन्दा छानाबाट खसे जस्तो भएको छु। मैैले आफ्नो अविभावक गुमाएको छु। त्यो भन्दा पनि ठूलो कुरा नेपालले एउटा असल मित्र गुमाएको छ।