किम्बदन्ति अनुसार, गणेश चतुर्थिको दिनमा स्वर्गकी अप्सरा ‘बसुन्धरा’ व्रत बस्छिन्। उनलाई पूजा गर्न चाहिने ‘खाइसी’ एक प्रकारको अमिलो फल र पारिजातको फूल आवश्यक पर्यो।
भाद्र शुक्ल द्वादशीको दिन स्वर्गका राजा इन्द्र स्वर्गलोकबाट मर्त्यलोक (पृथ्वी) मा पारिजातको फूल टिप्न आए। उनले आफ्नो बाहान ऐरावत हात्ती साथै ल्याएका थिएनन्।
इन्द्रले पारिजातको फूल र फल टिप्दै गर्दा पृथ्वी लोकका मानिसले भेट्टाउँछन्। इन्द्रलाई पाता कसेर चोरेको फलफूलसहित टोलमा, सबैले देख्ने ठाउँमा लगेर राख्छन्। इन्द्रले आफू भगवान भएको भन्दा पनि उनलाई छोडिँदैन। किनकी ‘चोर जो भए पनि चोर नै हुन्छ’ भनेर उनलाई बाँधेरै राखिन्छ।
स्वर्गका राजा भए पनि पृथ्वी लोकमा यहाँका जनतालाई नसोधी चोरेको भएर उनलाई यस्तो व्यवहार गरिन्छ।
लामो समयसम्म इन्द्र स्वर्ग फिरेनन्। त्यसपछि बसुन्धराले इन्द्र बन्दी भएको थाहा पाउँछिन्। त्यसपछि उनी ‘डाकिनी’ को भेषमा पृथ्वी आउँछिन् । आफूलाई कसैले नदेखुन् भनेर शित र कुहिरो साथै लिएर आउँछिन्। उनले ऐरावत हात्तीलाई साथै ल्याउछिन् र चोरेर इन्द्रलाई लैजान्छिन्।
नेवार बस्तीमा इन्द्रको प्रतिक स्वरुप ठाउँ ठाउँमा लिंग राखिएको हुन्छ। लिंगलाई ९ पल्ट बेरेर खाइसी र फूल पनि राखिएको हुन्छ। लिंग देखियोस् भनेर झलमल पारिएको हुन्छ। इन्द्र भागेर गएपछि यो दिनको स्मरण गर्नलाई इन्द्रजात्रा मनाइन्छ।