'कोरोना भनेको रूघाखोकी हो, बेसार पानीले सञ्चो हुन्छ भन्ने बुझाइले संक्रमण फैलिएको छ'

काठमाडौंमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै थियो। त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्रका सह-प्राध्यापक रञ्जनकुमार दाहाललाई भने घरमा बस्ने फुर्सद थिएन।

लकडाउनकै बीचमा उनी एउटा अध्ययनका लागि इलाम पुगे। इलामबाट फर्केको केही दिनपछिको कुरा हो। आजभन्दा झन्डै २५ दिनअघि उनलाई अकस्मात् सुख्खा खोकी लाग्यो। ज्वरो पनि आयो। उनले धुम्बाराहीको ह्याम्स अस्पतालमा गएर कोरोना परीक्षण गर्न स्वाब दिए र आफू होम क्वारेन्टिनमा बसे।

ज्वरो आएपछि र जिब्रोको स्वाद पनि हराउन थालेपछि उनलाई आफू संक्रमित भएको पक्काजस्तै थियो। नभन्दै रिपोर्ट पोजेटिभ आयो।

'निकै डर लाग्यो। तै पनि हिम्मत जुटाइरहेको थिएँ,' उनले भने, 'परिवार पनि थियो, भर थियो।' 

कोरोना पोजेटिभ देखिएको पाँच दिनसम्म उनी घरमै छुट्टै कोठामा आइसोलेसन बसे। खोकी र ज्वरो कम भएको थिएन। अर्को दिन उनलाई सास फेर्न गाह्रो हुँदै गयो।

स्वास्थ्य मन्त्रालयले दिएको फोन नम्बर १०२ मा फोन गरेर उनले आफूलाई लक्षण देखिएको र सास फेर्न गाह्रो भएकाले अस्पताल जानुपर्ने जानकारी दिए।

फोन गरेको आधा घन्टामै उनलाई लिन एम्बुलेन्स आइपुग्यो। अक्सिजन लगाइदिएर एम्बुलेन्सले बलम्बुको सशस्त्र प्रहरी अस्पताल पुर्‍यायो।

उनलाई सुरूमा सामान्य वार्डमा राखिएको थियो। स्वास्थ्यकर्मी आएर जाँच गरे। उनको अक्सिजन कम भइसकेको रहेछ। अनि सिधै आइसियुमा लगे।

प्रकाशित मिति: : 2020-08-31 23:51:16

प्रतिकृया दिनुहोस्