संघर्ष र प्राप्तीका कथाहरु धेरै लेखिएका छन्। मुस्किलमा उठेका हातहरु सुन्दर लाग्छन् नै। दुःखमा पनि बढिरहेका पाइलाका तारिफ हुन्छन् नै। तर रोकिनुपरेका समयको वेवास्ता किन हुन्छ? छाडेर जानेहरु किन कहिल्यै राम्रो लागेनन्? चाहे बाध्यता जेसुकै होओस्।
देशमा रहँदा उनीहरु दुःख बोल्दैनन्। बोलि दबाइने समाजमा नबोलिएका कुराहरु झनै छोपिन्छन्। यसैले दबिएका ती उकुसमुकुस पलायनसँगै बाटो खोज्छन्। निस्कन्छन्। अहिले फुटबल खेलाडी हेमन गुरुङलाई ठीक त्यस्तै भइरहेको छ। ती कठीन दिनहरुले झस्काइरहन्छ।
दुःखपछि सुख, रातपछि दिन आउँछ भन्नु उनका लागि काल्पनिक बिम्बबाहेक केही भएन। सुखको दिनका लागि सयौँ दुःखका रातहरु कटे तर उज्यालो देखिएन। प्रश्न बाँकी थियो त दुःखको पर्वाह नगरी राष्ट्रिय खेलाडीको गर्व गरिरहने कि सुखद भविष्य रोज्ने? उनले मुस्किलले दोस्रो विकल्प रोजे र देश छाडे।
खेल्दाखेल्दै मैदान छाड्नुको दुःख खेल्नेहरुलाई नै थाहा छ। बाहिर देखिएकोे उचाइले भित्रभित्र गहिराइमा पार्दै लगेपछि विकल्पको खोजि स्वभाविक बनिदिन्छ। जहाँ बाध्यता बनिदिन्छ विदेशिनु। प्रश्न उठ्छ, यहाँ नै यत्तिका संघर्षमा बाँचिरहेछन् त केही किन देश नै छाड्छन्? विकल्प देशमा नै पनि त हुन्छ।