अनिष तामाङलाई सानैदेखि 'मेकअप'मा रूचि थियो। आमाले ऐनाअगाडि उभिएर शृंगार गर्दा उनी हेर्दै त्यसको नक्कल गर्थे। तर उनको यो रहरलाई समाजले 'स्त्रीलिङ्गी चरित्र' भन्थ्यो।
छिमेकीहरूले 'विचरा' भावमा परिवारलाई भन्थे, 'भएको एउटा छोरा पनि छोरीजस्तै भयो है?'
मेकअप भनेको छोरी मान्छेका लागि मात्रै हो भन्दै समाजले बारम्बार बुझाउन खोज्थ्यो। यही कारण उनलाई समाजमा खुलेर प्रस्तुत हुन गाह्रो हुन्थ्यो। 'समाजले के भन्छ' भन्ने डर मनमा सधैं रहन्थ्यो।
तर संकुचित सोचका बन्धनले अनिषलाई बाँधेर राख्न सकेन। पेसालाई लैंगिक भिन्नता दिएर छेक्ने पर्खाल तोडेर अनिष आज मेकअप आर्टिस्टका रूपमा परिचित छन्।