सुशान्त सिंह राजपूतको निधन भएको अढाई महिनापछि अर्को तथ्य बाहिर आएको छ। सुशान्तको शरीरको पोस्टमर्टम भएको कूपर अस्पतालका एक कर्मचारीले उनको हत्या भएको दावी गरेका छन्।
अस्पतालका कर्मचारीले सुशान्तको घाँटीमा गहिरो चोट लागेको तथा खुट्टा टुटेको अवस्थामा रहेको बताए। अमेरिकामा बसोबास गर्ने सुशान्तकी दिदी श्वेताले अस्पताल कर्मचारीको अन्तर्वार्ताको भिडियो सोसल मिडियामा सेयर गर्दै भनेकी छिन्, ‘हरे भगवान। उनीहरूले मेरो भाईलाई के गरे? कृपया उनीहरूलाई पक्राउ गर्नुस्।’
सुशान्तको पार्थिव शरीरलाई अस्पतालदेखि घाटसम्म लगेको दावी गर्ने ती कर्मचारीले भने, ‘हामीलाई यति मात्र थाहा छ, त्यो हत्या थियो। घाँटीमा सुईले घोचेजस्तो १५–२० वटा प्वाँल थियो। उनको घाँटी हेर्दा प्रष्ट थाहा हुन्थ्यो, सुईले घोचिएको थियो। उनको घाँटीमा टेप पनि लगाइएको थियो। मैले शरीरलाई अस्पतालबाट उठाएर घाट लैजादा उनको खुट्टा टुटेको भेटेको थिए। उनको शरीर कूपर अस्पताल ल्याउँदा खुट्टा मोडिएको अवस्थामा थियो।’
ती कर्मचारीले सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्ती अस्पताल आउँदा दुई जना उनीसँगै रहेको बताए। ‘उनले मलाई शरीर देखाउन सक्छौं भन्यो, मैले देखाइदिए। यसपछि उनले माफी मागिन्। अरु केही भनिरहेकी थिइन्। मलाई उनीहरूले बाहिर पठाए। २५ मिनेटसम्म उनी भित्र थिइन्। ठूला डाक्टर पनि भनिरहेका थिए, यो हत्यो हो। फाँसी लागेको होइन।’
उनले सुशान्तको शरीर अस्पताल ल्याउँदा पहेँलो भइसकेको बताए। ‘हामी शरीर हेरेर नै थाहा पाउछौं। फाँसी लगाएको शरीर पहेँलो कहिल्यै हुँदैन। छाती र खुट्टामाथि पहेँलो निसान थियो।’
तर, कूपर अस्पतालले आफ्नो रिपोर्टमा सुशान्तको निधनलाई आत्महत्या घोषित गरेको थियो। विसरा रिपोर्टमा पनि उनको निधन फाँसीबाट भएको स्थापित गर्न खोजिएको थियो।
सुशान्तको निधनलाई लिएर रहस्य अहिले पनि कायमै छ। उनको निधनको छानवीन सीबीआईले विगत १० दिनदेखि गरिरहेको छ।