स्वास्थ्य मन्त्रालयबाट काठमाडौं महानगरसम्म कोरोना संक्रमितकाे तथ्यांक पुग्न दुई दिन

काठमाडाैं, भदौ १४ : काठमाडौं महानगरपालिकामा दिनदिनै कोरोना भाइरसको संक्रमण बढिरहेको छ। जतिसक्दो चाढो संक्रमितको पहिचान र कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ। तर, स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमितको तथ्यांक पाउन काठमाडौं महानगरलाई दुई दिन लाग्छ। अहिले सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई ब्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको छ। काठमाडौं त संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि कन्ट्याक्ट ट्रेसिङको जिम्मा पनि स्थानीय सरकारलाई नै दिएको छ। तर, सयमै संक्रमितको विवरण नपाउँदा समस्या भएको स्थानीय सरकारको गुनासो छ। अहिले काठमाडौं महानगरमै कुन वडामा कति कोरोना संक्रमित छन् भन्ने दैनिक तत्थ्यांक महानगरसँगै छैन। भदौ १२ र १३ गतेको विवरण भदौ १४ गते बिहानसम्म पनि नमिलेको महानगरले जनाएको छ। अहिले भदौ ११ गतेसम्मको विवरण मात्रै रहेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए। ‘हामीसँग भदौ ११ गतेसम्मको मात्र कोरोना संक्रमितको तत्थ्यांक छ,’ प्रवक्ता डंगोलले काठमाडौं प्रेससँग भने ‘परीक्षण रिपोर्ट सार्वजनिक भएको दुई दिनपछि मात्रै स्वास्थ्य मन्त्रालयले तथ्यांक दिने गरेको छ।’ जसले गर्दा संक्रमित कुन वडामा कहाँ बसेको छ भन्ने पत्ता लगाउनै समय लाग्ने गरेको उनले बताए। त्यस्तै स्वास्थ्य मन्त्रालयको ढिलाइकै कारण कन्ट्याक्ट ट्रेसिङमा पनि ढिलाइ भइरहेको उनको भनाइ छ।
 

 
प्रकाशित मिति: : 2020-08-30 12:22:15

प्रतिकृया दिनुहोस्