गोपाल गडतौला
कुरो २०३९ सालको हो। मध्य बर्खाको एक बिहान उनी आँगन पर्तिरको गरामा एकधुनमा हलगोरु जोतिरहेका थिए। एकाएक कसैले बोलाएको आवाज सुने। यसो हेरे, खेतको आलीमा उनकै स्कूले साथी टीका पौडेल थिए।
“बुद्धि, तेरो नाम फिजिक्समा निस्किएछ, भर्ना हुने आजै अन्तिम म्याद रहेछ, हिंडिहाल्”, पौडेलले एकैसासमा यसो भनिभ्याए। यी पौडेल भने जीवविज्ञान (बायोलोजी) विषयमा नाम निकालेर भर्खरै आईएस्सी भर्ना भइसकेका थिए।
अनौ समाएर गोरुको ढाडमा बाँसको सिर्कनु हानिरहेका बुद्धिले तत्क्षण गोरु रोके। अर्काे गरामा गोरु जोतिरहेका बाबु भद्रमान राईले पनि छोराको साथीको सन्देश सुनिरहेका थिए। भद्रमानले छोरालाई आदेशको लवजमा भने, “तुरुन्त गोरु फुकाएर खाजा खा, अनि गइहाल्।”
छोराको विज्ञान पढ्ने धोको बुझेका यी भूतपूर्व बेलायती गोर्खा सैनिकले श्रीमती ललिसरालाई पनि टाढैबाट आदेश दिए, “मेरो सिरानी मुनिबाट झिकेर यसलाई सातसय रुपैयाँ दिइहाल्।”