याे वर्षकाे बालाेन डि’ओर अवार्ड म आफैंले आफैंलाई दिन्छु: लिवानडोस्की

वायर्न म्युनिखका स्टार फरवार्ड रोवर्ट लिवानडोस्कीले आफू यसपटकको विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालाेन डि’ओर जित्न योग्य रहेको बताएका छन्। 

उनी यसपटक युरोपियन च्याम्पियन्स लिग, बुन्डेस लिगा साथै डिएफबी पोकल कपको विजेता बने। त्यति मात्रै होइन उनी यी सबै प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहे।

फुटबल विश्लेषकहरुले पनि यसपटक लिवाडोस्की मात्र बालाेन डि’ओर जित्न लायकको भएको बताउँछन्।

यद्यपी ६४ वर्षे इतिहासमा पहिलोपटक कुनैपनि खेलाडीलाई यो अवार्ड प्रदान गरिने छैन।

वर्षको सर्वोत्कृष्ट फुटबलरलाई बालोन डी’ओर र फिफा वर्ष खेलाडी अवार्ड प्रदान गरिन्छ। सन् १९५६ पछि पहिलो पटक २०२० मा बालोन डी’ओर प्रदान नगरिने भएको हो। 

फ्रान्सको न्युज म्यागजिन फ्रान्स फुटबलले कोरोना भाइरसको महामारीका कारण खेलाडीको मुल्यांकन गर्ने पर्याप्त आधार नरहेको भन्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको हो।  जसका कारण लिवानडोस्कीले ठूलो घाटा व्यहोर्ने भएका छन्।

पोल्यान्डको एक खेल पत्रिका स्पोर्टओवी फ्याक्तेले लिवानडोस्कीसँग अन्तर्वार्ता गरेको छ जहाँ बालाेन डि’ओर सम्बन्धी प्रश्न गरिएको छ।

पत्रिकासँग लिवानडोस्कीले भनेका छन्,‘बालाेन डि’ओर अवार्ड म आफैंलाई प्रदान गर्छु। हामीले वायर्नबाट सबै उपाधि जित्यौं। बुन्डेस लिगा, जर्मन कप र च्याम्पियन्स लिगमा म सर्वाधिक गोलकर्ता थिए।’

सन् २००९ पछि फिफा वर्ष खेलाडीकै रुपमा बालोन डी’ओर प्रदान गरिएको भएपनि सन् २०१५ पछि फेरी छुट्टाछुट्टै वितरण गर्न थालिएको थियो।

गत वर्ष बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनी सुपस्टार लिओनल मेसीले बालोन डी’ओर जितेका थिए। मेसीले सर्वाधिक फिफा बेबालोन डी’ओर ४ पटक र बालोन डी’ओर २ पटक जितेका छन्। 

यसैगरि पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फिफा बालोन डी’ओर २ पटक र बालोन डी’ओर ३ पटक हात पारेका छन्। 

सन् १९५६ यता बेलोन डीअर प्रदान गरिँदै आएको छ।

प्रकाशित मिति: : 2020-08-29 17:27:06

प्रतिकृया दिनुहोस्