ब्राजिलियन डिफेन्डर सिल्भा चेल्सीमा

ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन्।

आइतबार च्याम्पियन्स लिग २०१९–२० को फाइनलमा बायर्न म्युनिखसँग १-० ले पराजित भएपछि सिल्भाले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए।

स्काई स्पोर्ट्सका अनुसार चेल्सीले सिल्भासँग एक वर्षको सम्झौता गर्ने गरेकाे हाे। यसका साथै क्लबको चाहनाअनुसार अर्को एक वर्ष सम्झौता थप गर्न पाउने प्रावधान रहेको छ।

सिल्भाको क्लबसँगको सम्झौता च्याम्पियन्स लिग सकिएसँगै सकिएको थियो। यसअघि नै क्ललबे उनले सिजनपछि सम्झौता नवीकरण नगर्ने बताइसकेको थियो।

सिल्भाले केही समय त्यहीँ खेल्न चाहेका थिए, तर पीएसजीले नै राख्न चाहेको थिएन। जुन महिनामै एडिनसन कभानी र थोमस मुनिएरसँगै सिल्भाको सम्झौता पनि सकिएको थियो।

तर, सिल्भासँगै फरवार्ड एरि चुपो मटिङले च्याम्पियन्स लिगको नकआउट स्टेज खेल्नलाई २ महिनाको सम्झौता थप गरेका थिए।

चेल्सीले उनलाई यस समरमा चाैथाे खेलाडीको रुपमा क्लब भित्र्याएकाे हाे। आयाक्सबाट हाकिम जिएक र आरबी लापेजिकबाट टिमो वेर्नरलाई भित्र्याएको चेल्सीले यसै साता लेस्टर सिटीका बेन चिलवेल र फ्रान्सेली डिफेन्डर मालांग सारलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको थियाे।

सन् २०१२ मा एसी मिलानबाट पेरिस पुगेका सिल्भाले त्यहाँ रहँदा धेरै उपाधि जितेर समर्थकको मन पनि जिते। ८ वर्ष पीएसजीमा रहँदा उनले ७ पटक फ्रेन्च लिग वान, ६ पटक फ्रेन्च लिग कप, ५ पटक फ्रेन्च कप र ५ पटक फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जितेका थिए।

पहिलो पटक सिल्भाको कप्तानीमा यस वर्ष पीएसजी युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। तर बायर्नसँग १-० ले पराजित हुँदै उपाधिबाट वञ्चित रह्यो।

सिल्भाले चेल्सीसँग सम्झौता गरेपछि लाम्पार्डको टोलीमा रहेर खेल्न उत्सुक रहेको बताए। ‘चेल्सीसँग अनुबन्ध हुन पाउँदा एकदम खुसी छु। फ्रान्क लाम्पार्डले हेरिरहेकाे यस युवा टोलीमा समावेश भएर सफलता हासिल गर्न म तयार छु। म स्टामफर्ड ब्रिजमा खेल्न लालायित छु,’ उनले भने।

प्रकाशित मिति: : 2020-08-28 17:24:36

प्रतिकृया दिनुहोस्