के भारतको बिजुलीले नै रोकिरहेको छ लोडसेडिङ ? हेर्नुस् तथ्यांक

१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आलोचकहरुले लगाउने गरेको एउटा आरोप हो, भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको छ । घिसिङ अहिले आफ्नो कार्यकालको अन्तिम समयमा रहँदा फेरि यो विषय बाहिर आइरहेको छ । के नेपालमा लोडसेडिङ हट्न भारतको बिजुली नै निर्णायक हो त ?

गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको प्रणालीमा चुहावटसहित ७ अर्ब ७४ करोड युनिट विद्युत उपलब्ध थियो । यसमध्ये भारतबाट आयातित बिजुलीको हिस्सा १ अर्ब ७२ करोड युनिट छ भने आन्तरिक उत्पादनबाट ६ अर्ब ०३ करोड युनिट प्रणालीमा आएको छ । यो करिब १३ अर्ब ५८ करोड रुपैयाँ बराबरको बिजुली हो । 

भारतबाट आउने बिजुलीको आयात परिमाण अघिल्लो वर्षको भन्दा आर्थिक वर्ष २०७६/७७ मा घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब ५५ करोड युनिट बिजुली खपत हुँदा २ अर्ब ८१ करोड युनिट भारतबाट आएको थियो । सो वर्ष २२ अर्ब ९५ करोडको बिजुली आयात भएको थियो ।

त्यसभन्दा अघिल्ला वर्ष नेपालमा बिजुली आयातको परिणाम क्रमशः बढ्दै थियो । तर, परिणाम बढ्दा पनि कूल खपतमा भारतीय बिजुलीको हिस्सा ठूलो हुन पाएको थिएन । नेपालले आन्तरिक उत्पादन बढाउँदै लगेपछि गत आर्थिक वर्षबाट भारतीय बिजुली आयात दर नै कम भएको छ ।

प्रकाशित मिति: : 2020-08-28 11:42:07

प्रतिकृया दिनुहोस्