अमेरिकाको लुइसियाना र टेक्सासमा भीषण हावाहुरी, चार जनाकाे मृत्यु, ५ लाखले घर छोडे

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको लुइसियाना र टेक्सासमा आएको भीषण हावाहुरीमा परेर  कम्तीमा चारजनाको ज्यान गएको छ। लौरा नाम गरेको यो ‘हरिकेन’ का कारण यहाँ २४० किलोमिटर प्रति घण्टाको तीब्र बेगमा हावा चलेकाे थियाे।

हावाहुरीले गर्दा लुइसियानामा बुधबार र बिहीबार दुई दिनदेखि करिब २ लाख घरमा बिजुली छैन। यस्तै, टेक्सासमा पनि ४५ हजार घरको बिजुली सप्लाई काटिएको छ। औद्योगिक क्षेत्रमा रसायनिक पदार्थका कारण आगलागी भएको छ।

हाल लोरा तुफानलाई ट्रपिकल स्ट्रोम ग्याटगोरीमा झारिएको छ। सो तुफान अर्कान्सास राज्यतर्फ गएको छ।

नेशनल हरिकेन सेन्टर (एनएचसी)ले राज्यको अन्य भागमा ठूलो पानी पर्ने र बाढी पनि आउन सक्ने सम्भावनाका बीच ‘हाई–अलर्ट’ मा रहन सुझाव दिएको छ। 

अहिले भइरहेको हावाहुरीलाई चौथो क्याटागोरीसँग तुलना गरिएको छ। जसले राज्यमा डरलाग्दो दुर्घटना निम्तिन सक्ने बताएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले लुइसियाना र टेक्सासका जनतालाई स्थानीय सरकारको निर्देशन मान्न अपील गरेका छन्। 

लुइसियानामा १ सय ६४ वर्षपछि यति ठूलो हावाहरी आएको एनएचसीले बताएको छ। सन् १८५६ मा यस्तै शक्तिशाली हावाहुरी रेकर्ड गरिएको थियो। 

अन्तर्राष्ट्रिय न्युज एजेन्सी बीबीसीका अनुसार लुइसियाना र टेक्सासमा करिब पाँच लाख मानिसले घर छोडेर सुरक्षित स्थानमा गएका छन्। लौरा हावाहुरी लुइसियानास्थित क्यामरोनको समुन्द्री क्षेत्रमा गएर ठोक्किएको थियो। 

क्यारबियन क्षेत्रमा ती तुफानका कारण २४ जनाको ज्यान गएको थियो।  

हालै सार्वजनिक एउटा रिपोर्टअनुसार सन् २००५ मा न्यु ओर्लिसमा गएको क्याटरिना हावाहुरीपछि लौरा सबैभन्दा प्रभावशाली मानिएको छ। क्याटरिनाका कारण १८ सय मानिसको निधन भएको थियो। त्यो पाँचौ क्याटगोरीको हावाहुरी थियो। 

टेक्सासका गर्भनर ग्रेग एबोटले भनेका छन्, हावाहुरीपछि महामारीको सम्भावना बलियो छ। त्यसैले उनले सामाजिक दुरी कायम गर्न अपील गरेका छन्। अमेरिका कोरोना भाइरसका कारण यसअघि नै थलिएको छ। विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित र मृतक भएको देश नै अमेरिका हो।

प्रकाशित मिति: : 2020-08-28 07:31:39

प्रतिकृया दिनुहोस्