कोरोना महामारीको जोखिमबाट बच्न संघीय सरकारले देशभर चैत्र ११ बाट ‘लकडाउन’ को घोषणा गर्यो । त्यसपछि पेशा, व्यवसाय, कार्यालय, विद्यालय सबै बन्द भए । सबै पेशाकर्मी घरको ढोका बन्द गरेर बस्ने अवस्थामा पुगे तर हामीले भने विश्वव्यापी महाव्याधि बनेर देखापरेको कोरोनाविरुद्धको अभियानमा योगदान गर्ने निधो गर्यौँ ।
सिमरास्थित 'हातेमालो वचत तथा ऋण सहकारी संस्था लि.' को म व्यवस्थापक । यस क्षेत्रको सबैभन्दा अग्रणी सहकारीमध्ये हो, हाम्रो । त्यस संस्थाको मुख्य कार्यकारीका नाताले मलाई थप जिम्मेवारी बोध थियो । यसै संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद पौडेल जीतपुर–सिमरा उप–महानगरपालिकाका मेयर ।
उपमहानगरपालिकाले सिमरामा ‘कोभिड–१९ अस्थायी अस्पताल’ सञ्चालनमा ल्यायो । ‘लकडाउन’ बीच नगरपालिकासँंगको सहकार्यमा चैत्र २७ देखि १५ दिन कोरोना अस्थायी अस्पतालका बिरामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित त्यहाँ कार्यरत सबैका लागि खानपानको व्यवस्थापनको जिम्मा हातेमालो सहकारीले लियो । स्वाभाविक रुपमा मेरो जिम्मेवारी थपियो ।
सुखद् संयोग, हामीले व्यवस्थापन गरुञ्जेल उक्त अस्पतालमा कारोना पोजेटिभ भेटिएको थिएन । केही दिनपछिबाट हाम्रो नगरपालिका क्षेत्रमा समेत कोभिड–१९ का बिरामी देखापरे । नेपालमै सबैभन्दा पहिला कोरोनाको ‘हट स्पट’ प्रदेश नम्बर २ भयो । उपमहानगरपालिकाको जितपुरमा पनि कोरोनाका बिरामी देखा परे । बिराटनगर, सुनसरी, उदयपुर, वीरगञ्जमा कोरोनाका बिरामी देखा पर्दा नै यहाँ पनि बिरामी भेटिए ।
कोरोनाको प्रकोप फैलँदो थियो । लकडाउन लम्बिदो थियो । योसँगै समाजमा गरिबी बढ्दो थियो । यस्तो बेलामा सदस्यहरुका लागि संस्थाको सहयोग थप आवश्यक हुनसक्थ्यो । त्यो जिम्मेवारी बोध गरी हामीले कार्यालय सञ्चालन गरिरहेका थियौँ ।
संघीय सरकारले चैत ११ देखि देशभरि लगाएको लकडाउन साउन ७ बाट हटेको मात्र के थियो, बारामा भने समुदाय स्तरमा कोरोना फैलिएको पुष्टि भयो । त्यसको केही दिनपछि नै साउन १८ बाट पुन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्यो । म भने साउन २१ गतेसम्म कार्यालय गइरहेको थिएँ ।
सुरु भयो रुघा, बढ्यो आशंका
कार्यालय गइरहेको बखत नै मलाई रुघा लाग्न सुरु भयो । यत्रतत्र कोरोनाका बिरामी भेटिन थालिसकेका थिए । मैले पनि कोरोना संक्रमणको डरले घरमा एकान्तबास सुरु गरेँ ।
परिवारसँग सल्ला भयो । कोरोना परीक्षण गर्ने प्रक्रिया मिलाउनतिर लागेँ ।
इच्छा लाग्दैमा सहज ढंगबाट परीक्षण गराउन पाउने थिएन । त्यसैले ‘लाइन’ मिलाउनुपरेको थियो । ‘सिक्वेन्स’ मिलाउँदा–मिलाउँदै ३–४ दिन बित्यो । त्यसपछि बल्ल साउन २४ गते शनिवार पीसीआर टेस्ट गर्ने पालो आयो ।
पीसीआर टेस्टका लागि ‘स्वाब’ नदिँदै पाँच–छ दिनसम्म लागेको रुघा क्रमशः घटिसकेको महसुस हुँदै थियो । स्वाब त दिइयो तर रिपोर्ट नै आएन ।
पोजेटिभ रिपोर्ट र तनाव
जब साउन २४ गते ‘स्वाब’ लगेको पीसीआर टेस्टको रिपोर्ट एक सातापछि ३० गते मात्र आयो– त्यो पनि पोजेटिभ । तब सुरु भयो मानसिक तनावको चरण । अस्पतालले औपचारिक रुपमा रिपोर्ट दिनुअगावै हाम्रो संस्था हातेमालोका अध्यक्ष यज्ञबहादुर आले (सर) बाट थाहा पाइसकेको थिएँ– पोजेटिभ रिपोर्टबारे । रिपोर्ट आउँदासम्म म ‘होम–क्वारेन्टाइन’ बसेको १० दिन नाघिसकेको थियो ।
अब भने बसाइको लागि जिल्ला सदरमुकाम कलैयाको गंगापुरस्थित ‘संस्थागत आइसोलेसन’ जानुपर्ने हुनसक्थ्यो । स्वास्थकर्मी मित्र श्यामकिशोरजी (चौधरी) बाट मलाई जानकारी भइसकेको थियो– त्यहाँ जानु पर्यो भने मेरा लागि तनावपूर्ण बसाइ हुनसक्थ्यो ।
मैले थाहा पाएको केही घण्टापछि अस्पतालबाट फोनमार्फत् जानकारी आयो– रिपोर्ट पोजेटिभ आयो । जानकारी दिँदै यो पनि भनियो, ‘संभवत: गंगापुर जानुपर्ने हुनसक्छ, त्यसका लागि पछि फेरि फोन आउँछ ।’
म भने गंगापुर जानु नपर्ने उपायको खोजीमा लागेँ । थाहा पाएँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारी कार्यान्वयनमा ल्याइसकेको ‘होम क्वारेनटाइन’ सम्बन्धी कार्यविधि । मेरो स्वास्थ्य सामान्य थियो । त्यसैले घरमै आइसोलेसनमा बस्ने निधो गरे ।
अनि वडाध्यक्ष रामप्रसादजी (लामिछाने)लाई फोन गरेँ । भनेँ, ‘मलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । स्वास्थ्यमा कुनै समस्या छैन । ‘होम क्वारेनटाइन’ मै बस्ने निधो गरेको छु ।’
यतिबेलासम्म मलाई कोरोना भाइरस संक्रमण भएको खबर खरबारीमा लागेको आगो सरी फैलिसकेको थियो । हाम्रो संस्थाको सदस्य र संस्थाको कार्यक्षेत्रका अगुवाहरुसँग म व्यक्तिगत रुपमा पनि परिचित छु । मेरा विद्यार्थी र विद्यार्थीका अभिभावकलाई स्वास्थ्यको चिन्ता हुने नै भयो । त्यसबाहेकका आफन्तजन र साथीभाइ त स्वभाविक रूपमा झन् आत्तिने नै भए ।
मलाई कोरोना संक्रमण भएको बिहान १० बजेतिर थाहा भयो । मलाई कोरोना पुष्टि भएपछि बाँकी परिवारमा समेत भय सिर्जना भयो । त्यसपछि मोबाइल फोनको घण्टी बज्न थाल्यो । शुभेच्छुकहरु मलाई ढाडस दिँदै भन्नुहुन्थ्यो, ‘आत्मबल बलियो बनाउनुपर्छ, निराश हुनुहुँदैन ।’
दिउँसो घरमा स्थानीय राजघट्टा प्रहरी चौकीका दुई जना प्रहरी आउनुभएको थियो– जानकारी लिने हिसाबले । प्रहरीलाई हाम्रो घर भेट्न पनि निकै मुस्किल परेको रहेछ । त्यसको कारण थियो– रिपोर्टमा लेखिएको गलत ठेगाना । दुईमध्ये एक जनाले भन्नुभो, ‘प्राप्त सूचनासहित कोरोना पोजेटिभहरुको ठेगाना पत्ता लगाउन कम्ति अप्ठेरो छैन ।’
मेरो ठेगानामा वडा नं. १५ हुनुपर्ने थियो, वडा नं. १४ लेखिएको रहेछ । अझ ३ जना संक्रमितको ठेगाना त वडा नम्बर २५ लेखिएको रहेछ । प्रहरी उक्त वडाको खोजीमा थिए जबकि जीतपुर–सिमरा उपमहानगरपालिकामा वडा नम्बर २५ नै छैन । उपमहानगरपालिकामा कुल २४ वडा मात्र छन् ।
प्रहरीहरु मेरो नाम सोध्दै घर आइपुगेका रहेछन् । मैले पनि प्रहरीसँगका नाम हेरेर चिनेकाहरुको ठेगाना बताइदिएँ ।
स्थानीय सरकार उदासीन
कोरोना संक्रमण फैलिएपछि देशभरिका स्थानीय तहको औचित्य पुष्टि भएको भन्दै सर्वत्र प्रशंशा मैले सुनेको छु । पढेको छु तर हाम्रो स्थानीय सरकारको क्रियाशीलता त्योभन्दा ठीकविपरीत महसुस गरेको छु ।
म स्थानीय सरकार खोज्दै हिँड्थेँ तर सरकारले भने बेवास्ता गर्यो । मैले चरम लापर्वाही र बेवास्ता गरेको अनुभूति गरे । मैले सुरुमै आफूलाई कोरोना पोजेटिभ देखिएको खबर मेयर साहेब स्वयंलाई सुनाएको थिएँ, जसलाई म व्यक्तिगत रुपमा पनि 'दाइ' भन्ने गर्छु ।
उपमहानगरपालिकाको मेडिकल शाखाका अधिकारीले मलाई भनेका थिए– कहाँ बस्ने भनेर निश्चित गर्न पछि फोन आउँछ । तर, विश्वलाई लपेटेको महाव्याधि कोरोना संक्रमित पुष्टि भएको म कहाँ कुन अवस्थामा बसेको छु भन्ने कहिल्यै सोधखोज भएन ।
म यस क्षेत्रको परिचित व्यक्ति हुँ र त मलाई स्थानीय सरकारकाे कुनै पनि शाखाले कहिल्यै खोजेन । मैले मात्र खोजिरहेँ भने मभन्दा पनि कमजोर अवस्थाका सीमान्तकृत सर्वसाधारणको अवस्था के होला ?
मैले स्वास्थ्य मन्त्रालयको निर्देशिका पढेको छु । त्यसमा घरकै आइसोलेसनमा बस्दा स्वास्थ्यकर्मीले दिनमा दुईपटक बिरामीको स्वास्थको जानकारी लिनपर्ने उल्लेख छ । म ११ दिन ‘होम–आइसोलेसन’ मा बसेँ ।
रिपोर्ट आउँदादेखि ११ दिनको एकान्तबासमा जम्मा दुई पटक फोन आयो– पहिलो पटक पोजेटिभ रिपोर्ट सुनाउन र दोस्रो तथा अन्तिम पटक फोन तपाईंको सम्पर्कमा को–को छन् भनेर सोध्न । दोस्रो फोन ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का लागि सोध्न रहेछ ।
यसबाहेक स्थानीय सरकारले कुनै सोधखोज र सूचनाका लागि सम्पर्कै गरेन । कोरोना अस्थायी अस्पतालका डा. दीपक गिरीजीले कारण बताउनुभयो, ‘हुन त स्वास्थ्यकर्मीहरुको पनि कमी छ तर भएकाले पनि आफ्नो जिम्मेवारी के हो भन्ने नबुझेपछि काम गर्न अप्ठेरो छ ।’
महामारीमा सक्रियता
आफूलाई कोरोना नलाग्दासम्म सोचेको थिइनँ– कोभिड–१९ यस्तो होला भनेर । गत नोभेम्बरको अन्तिम साता चीनको वुहान प्रान्तबाट सुरु भएर संसारभरि महामारीका रुपमा फैलिरहेको भन्ने समाचार धेरै दिन पहिलेदेखि सुन्दै आएको थिएँ ।
यस कारण पनि बढी चासाे भयो कि जुन साता चीनको वुहानबाट कोरोना महामारी सुरु भो, त्यसै साता मेराे दाजु २४ दिन लामाे चीन भ्रमण गरी बेइजिङबाट नेपाल फर्केको थियो । त्याे संयाेगले पनि चीन सरकारले गरिरहेको प्रयास र त्यहाँ पढ्न गएका नेपाली विद्यार्थीलाई सरकारले उद्दार गरेर नेपाल ल्याएदेखि नै म कोरोनाबारे उत्सुक थिएँ ।
फान्सबाट फर्केकी एक जना १९ वर्षीया किशोरीमा संक्रमण हुँदा भएको देशव्यापी हल्ला मैले पनि नसुन्ने कुरो भएन । त्यसबेला उनी राष्ट्रिय चासो र चिन्ताको विषय बनेकी थिइन् ।
मैले सुन्थेँ– पोखराको आइसोलेनमा रहेकी बाग्लुङकी त्यस्तै किशोरीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले फोन गरेर ‘इनिसिएसन’ लिएको । त्यसको करिब छ महिना नपुग्दै सोही रोगले ग्रस्त म पनि एक बिरामी हुँ । के प्रदेश नं. २ मा त्यस्तै प्रदेश सरकार र स्थानीय सरकार होइन ? के सरकारको कार्यान्वयन तह– स्थानीय निकायको भूमिका पर्याप्त छ ?
मैले चासो साथ जानकारी राख्दै आएको थिएँ– कोभिड–१९ कस्तो रोग हो ? कसरी सर्छ ? अनि नसर्नका लागि आफ्नो तर्फबाट के गर्न सकिन्छ ?? आदि– आदि । हाम्रो नगरपालिकाले अस्थायी रुपमा कारोना अस्पताल बनाउने भएपछि हामीले ‘हातेमालो सहकारी’ का तर्फबाट संस्थागत रुपमा के सहयोग गरेका थियौँ । अझै पनि केही गर्न सकिन्छ कि भनेर सोचिरहेका छौँ ।
‘आइसोलेसन’ कठिन बसाइ
देशभरिबाट खबर आइरहेको छ– कोरोना संक्रमितलाई समाजमा बस्न अप्ठेरो परेको । कोभिड अस्पतालमा काम गर्ने डाक्टर, नर्सलाई समेत घरमा बस्न नदिएको समाचार आइरहेका छन् । तर, मलाई थाहा थियो– यो कुनै अपराध होइन ।
मेरोबारे समाजको एउटा ठूलो तप्कामा फैलिएको आशंका र कानेखुशीलाई मैले प्रष्ट पार्नुपर्छ । सुभेच्छुकको लगातारको फोन र जिज्ञासापछि सामान्य व्यक्तिले पनि साहसका साथ सामाजिक सञ्जालबाट जानकारी दिएँ– 'मलाई कोभिड–१९ पुष्टि भएको छ ।'
परिस्थिति जे त होला भनेर आँट गरेँ । फेसबुकमा लेखेँ । त्यसपछि हाम्रो परिवारले समेत कसैको सहयोगसमेत माग्नसक्ने परिस्थिति रहेन ।
म घरको माथिल्लो तलामा आइसोलेसनमा बसेँ । सिंगो परिवार तल्लो तलामा बस्थ्यो । हाम्राे घर स्वतः क्वारेन्टाइनमा परिणत भयो । गाउँको बीचमा रहेको र ५० वर्षदेखि त्यही समाजमा बसेको हाम्रो घर–परिवार एकान्तवासमा बदलियो । कोरोनाले नयाँ परिस्थिति यस्तो बनाइिदयो– सङ्कट पर्दा पनि कोही छिमेकीले सघाउन सक्ने छैन ।
मलाई कोरोना पुष्टि भएपछि सिङ्गै परिवारको कोरोना परीक्षण गर्नुपर्ने भयो । घरमा ७० वर्ष हाराहारीका बा–आमा हुनुहुन्छ। छ वर्षमुनिका छोरी–भाञ्जी छन्। कोरोना परीक्षणका लागि स्वाब दिन करिब ७ किलोमीटर टाढा लैजानुपर्ने छ । घरको सबैभन्दा सक्रिय म ‘आइसोलेसन’ मा पुगेपछि मेरोसमेत जिम्मेवारी पत्नी लीलाको काँधमा पुगेको छ ।
सङ्क्रमणको डरले कसैले हामीलाई सहयाेग गर्नसक्ने अवस्था छैन । विगतका कुनै पनि सम्बन्ध काम नलाग्ने गरी निष्क्रिय अवस्थामा पुगेका छन् । घरमा आपत् पर्यो भनेर बाहिर बस्ने दाजु–भाउजू वा कोही आफन्तजन घर आएर जिम्मेवारी सम्हाल्ने अवस्था पनि कोरोनाका कारण रहेन । एकाएक यो बडा मुस्किलको बाध्यात्मक परिस्थित सिर्जना भएको थियो ।
यस्तो बेलामा केही नभए पनि सरकार साथमा हुनुपर्थ्यो तर हामीले गाँस काटेर कर तिरेको सरकारका कुनै पनि संयन्त्रले साथ-सहयोग त के, ओठे आश्वासन दिनसमेत मुख देखाएन । यो सबभन्दा बिडम्बनापूर्ण यथार्थ थियाे ।
सङ्क्रमितसँग सम्पर्कमा आएका हुनसक्ने व्यक्तिलाई परीक्षणका लागि स्वास्थ्य संस्थासम्म लैजाने सवारीसाधनको जोहो गर्न कठिन भयो । निजी तथा भाडाका सवारीसाधन कसैले लगिदिन मानेनन् । नगरपालिकामा सोधेँ, त्यस्तो केही सुविधा छ कि ! त्यसपछि मैले फोन गरे– इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठलाई ।
मैले डीएसपी सापलाई सोधेँ, ‘कसैले लजान मानेनन्, परिवारको स्वाब दिनुपर्ने भो । परिवारलाई सिमरासम्म जाने–आउने गाडी व्यवस्थापन हुनसक्ला ?’
मैले अनुरोध गर्नु थियो, गरेँ । होला भन्ने आश लागेर गरेको पनि थिइनँ । डीएसपी सापको भाव सकारात्मक थियो । नभएपछि के लाग्छ र ! उहाँले स्वाभाविक रुपमा भन्नुभो, ‘हाम्रो कार्यालयमा छैन ।’ कम्तिमा उहाँले फोन उठाएर यथार्थ त बताइदिनुभो । उहाँभन्दा अघि मेयर सापको फोनसमेत उठेको थिएन ।
त्यसपछि अन्तिम विकल्प प्रयोग भयो- स्कुटर । मेरी पत्नी लीलाले त्यसैमा राखी पटक–पटक गरी सबै परिवारलाई कोभिड अस्थायी अस्पताल लगिन् र स्वाब दिएर घर ल्याउने काम गरिन् ।
अब म कोरोनामुक्त भइसकेको छु । हाम्रो परिवारका सबैको कोरोना परीक्षणमा ‘निगेटिभ’ रिजल्ट आइसकेको छ । अब हामी तनाब मुक्त छौँ । यति बेला पुनः हाम्रो परिवारको चिन्ता घटेको छ । खुशी फिरेको छ ।
अहिले म हाम्रो घरतिर हेर्दा पनि कोरोना भाइरस सर्लाजस्तो गर्ने कतिपय दुःखीआत्माहरुलाई सम्झिरहेको छु । तिनकाे अज्ञानताप्रति दया लाग्छ । हाम्रो समाज कस्ताे छ भनेर 'अक्सफोर्ड', 'हार्वर्ड' जस्ता विश्वका नामी विश्वविद्यालयमा पढ्नेले पनि पढ्न नपाउने समाजशास्त्र कोराेनाले घरमै 'स्थान हद' गरी पढाइदिएको छ । यस हिसाबले यो अवसर नै मानेको छु ।
हाम्रो सम्पूर्ण परिवारको कोरोना रिपोर्ट निगेटिभ आइसकेको छ । अझै पनि हाम्रो घरनजिक आइपुग्दा यसो भनेको पनि सुनिन्छ– ‘कोरोना सर्ने पो हो कि !’
नेपालीमा एउटा उखान छ– पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । संसारका शक्तिशाली व्यक्तिहरु बेलायतका प्रधानमन्त्री बोरिश जोन्सन, भारतका गृहमन्त्री अमित शाह लगायत करोडौं मान्छेलाई सिकिस्त पार्ने, धेरै पदासीन मन्त्री, पूर्व प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित करिब आठ लाख मान्छेको प्राण हर्ने कोरोनालाई यस पटकका लागि जित्ने म एउटा भुक्तभोगी हुँ ।
यसर्थमा मैले आफूलाई बहादुर सम्झे पनि फरक पर्दैन । भाग्यमानी माने पनि हुन्छ, यद्यपि म भाग्यवादमा विश्वास गर्दिनँ । त्यसैले मेरो अनुभवबाट शिक्षा लिँदा कोरोनासँग जुध्न केही हदसम्म पनि शक्ति आर्जन होला भन्ने हिसाबले यो अनुभव सार्वजनिक गर्ने प्रयास गरेको हुँ ।
यो तहको असहजता
कोरोना पोजेटिभ प्रमाणित हुँदा मसँग कुनै पनि बिरामी बाँकी थिएन । लागेको रुघा–खोकी पनि निको भइसकेको थियो । म आफ्नै घरमा बा, आमा, श्रीमतीलगायत परिवारको साथमा ‘होम–आइसोलेसन’ मा बसेको थिएँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसो भन्दा सामाजिक सञ्जालमा खिल्ली उडाइएको बेसार पानी नै मेरो मूल औषधि बन्यो । बेसार हालेको दूधले पनि मलाई काम गर्यो । गुर्जोको रस, तुलसी, अदुवा जस्ता हाम्रा परम्परागत औषधिले नै मेरो ‘इम्युनिटी’ बढायो ।
केही भावनात्मक भोगाइ पनि रह्याे । म आइसोलेसनमै बस्दाको अवधिमा कुसेऔँसी पर्यो- पिताजीको मुख हेर्ने दिन । यो पावन दिनमा समेत न मैले घरमै भएर पनि बुवालाई भेट्न पाइनँ । तामाकी मुनाजस्ती मेरी छोरीले मलाई भेट्न पाइनन् । उनको अबोध पाश्र्वआवाज भने सुनिरहेको थिएँ, ‘बाबा त छुओ हुनुभएको छ, भेट्न हुँदैन ।’म भने घरमा तलमाथि गर्दा समेत जताजता हिँड्याे, स्यानेटाइज गर्न 'स्प्रे' गर्दै हिँड्थेँ ।
परिस्थितिसँग जुध्न चाहिन्छ बलियो मन
कोरोना संक्रमण भइसकेपछि जुध्न अप्ठेरै छ । विशेष गरी ‘डेडिकेटेड आइसोलेन वार्ड’ राम्रो नभएको प्रदेश २ का जिल्लाको त झन् पीडादायी छ । त्यसैले हाम्रो समाजमा हामीले चिनेजानेका व्यक्तिहरु नै रुघा लागे पनि पीसीआर परीक्षण गर्न जाँदैनन् । त्यो सुविधा सहजै उपलब्ध छैन भन्ने त एउटा कुरो हो ।
त्योभन्दा पनि मूल कारण चाहिँ क्वारेन्टाइन र आइसोलेसनमा रहेको असुविधा हो । कसैलाई रुघाखेकी लाग्यो भने घरमा ‘आइसोलेसन’ बस्ने सुविधा नभएकाहरु होटेलमा गएर बसेका उदाहरण पनि छन् । यो भन्न लजाउनु पर्दैन– कोरोना समुदाय स्तरमै फैलिसकेको छ । अब दह्रो मनले सुझबुझका साथ यो सँग बच्नु र जुध्नु नै एकमात्र विकल्प हो ।
कोरोना पुष्टि भएपछि मैले अपनाएको मूलमन्त्र हो– ‘परिस्थिति जे भए पनि मनस्थिति बलियो बनाउनुपर्छ । जसरी पनि कोरोना भाइरसलाई जितेर सहज अवस्थामा फर्कनु छ ।’ केही शारीरिक अप्ठेराहरुलाई आफैँभित्र दबाएर दृढविश्वासका साथ सबैलाई सबैलाई भनिरहेँ, ‘म सामान्य अवस्थामा छु ।’
मेरो भोगाइमा कोरोना संसारभरि नै जसरी जति ठूलो महामारीको रुपमा चित्रण गरिएको छ, वास्तवमा त्यति धेरै डराउनुपर्ने जस्तो लागेन । मलाई त हाम्रोमा हरेक मौसम परिवर्तनको बेला वर्ष चल्ने ‘भाइरज ज्वरो’ जत्तिको कडा पनि होइन ।
दीर्घरोगी, वृद्धवृद्धा तथा श्वास–प्रश्वासमा समस्या भएकाबाहेक सामान्य व्यक्तिहरुले जोखिमपूर्ण मान्नु आवश्यक छैन । खानपानमा ध्यान दिने, कागती, बेसार, अदुवा, ज्वानो, जीरा, गुर्जो, गेडागुडीको रसजस्ता प्रतिरोधी क्षमता बढाउने खालका खानेकुरा खाएर कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने मेरो अनुभव रह्यो । हाम्रो परम्परागत दाल, भात, तरकारी, अचार, दही, दूध नै सबैभन्दा उपयुक्त खाना हो ।
कारोनो लागेको भन्ने सुनेरै डराउने वा समाजबाट एक्ल्याउनु जायज छैन । फोनबाट वा निश्चित भौतिक दूरी कायम गरी आफूले सक्ने सहयोग गरौँ । कोरोना फैलिए पनि मान्छे चेतनशील र सामाजिक प्राणी हो भन्ने चिनारी बाँकी नै राखौँ ।
कोरोनालाई छिटो परास्त गर्न दिलो ज्यानले लागिपर्ने, विभिन्न घरेलु जडीबुटी जुटाउनुहुने पुजनीय पितामाताप्रति साष्टाङ्ग दण्डवत गर्दछु । मेरो खानपानदेखि बसोबासको सबै प्रवन्ध गर्ने, सबैभन्दा बढी हौसला र सहयोग गर्ने, परिवारप्रतिको मेरोसमेत जिम्मेवारी निभाउने जीवनसंगीनी लीलासहित मेरो परिवारका सबै सदस्यप्रति सदा ऋणी रहने छु ।
‘होम क्वारेनटाइन’ मा बस्न मलाई सहयोग गर्ने सहकर्मी साथीभाइ, समाज, वडा अध्यक्ष रामप्रसादजी, भाइ (पत्रकार) सुनील गाउँले लगायत सामाजिक उत्तरदायित्व बहन गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
आइसोलेसनमा बस्दा मान्यजन, देशविदेशमा रहनुहुने आफन्तजन, साथीभाइलगायत सबैले विभिन्न माध्यमको प्रयोग गरी आत्मबल बढाउन गर्नुभएको योगदानका लागि सबैप्रति आभार व्यक्त गर्दछु ।
अन्त्यमा, नेपालीमा एउटा भनाइ छ–गर्दै, भोग्दै र सिक्दै जाने हो । तर, यो पनि सत्य हो– पाइलटका लागि दुर्घटनाबाट सिक्ने मौका हम्मेसी प्राप्त हुँदैन । जुन ड्राइभरले पटक–पटक पाउन सक्छ । पाइलटले अरुका भोगाइबाटै सिक्न सक्नुपर्छ ।
मेरो भोगाइ अरुका लागि कोरोना परास्त गर्ने साधन बन्न सकोस् । समाजबाट कोरोना हटाउने प्रयासमा सबै लागौँ । अति आवश्यक काममा बाहेक घरबाहिर ननिस्कौँ । भौतिक दूरी कायम गरौँ । हात धोऊ । सुरक्षित रहूँ । कोरोनालाई जितौँ ।
(बारा जिल्लाको सिमरास्थित हातेमालो वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ढुङ्गेल शुभारम्भ कलेजका ‘लेक्चरर’ हुन् ।)