अमेरिकाको विस्कनसिन राज्य तनावग्रस्तः दुई प्रदर्शनकारीको गोली लागेर मृत्यु, एक पक्राउ

बिएल संवाददाता

न्युयाेर्क

अश्वेत युवामाथि प्रहरीले गोली चलाएपछि प्रदर्शन भइरहेको अमेरिकाको विस्कनसिन राज्यको केनोश शहरको अवस्था तनावग्रस्त छ।

विस्किन्सन सहरको केनेसा क्षेत्रमा आइतबार दुई प्रहरीले अश्वेत नागरिक ज्याकब ब्ल्याकलाई उसैको केटाकेटीका अगाडि ढाडमा गोली हानेका थिए। प्रहरीले उनलाई एकभन्दा धेरैपटक गोली प्रहार गरेका थिए।

हाल अस्पताल भर्ना भएका ज्याकबको अवस्था चिन्तामुक्त रहेको बताइएको छ। उनलाई किन गोली हानिएको यसको कारण खुलेको छैन। 

सोही विरोधमा भएको प्रदर्शनको क्रममा मंगलबार राति गोली चल्दा दुईजनाको ज्यान गयो भने अर्का एकजना घाइते भए। सो घटनामा संलग्न भएको अभियोगमा १७ वर्षका किशोर पक्राउ परेका छन्।

सोमबारदेखि सुरू भएको प्रदर्शनमा प्रदर्शनकारीहरू पब्लिक सेफ्टी बिल्डिङमा प्रवेश गर्न खोजेका थिए। घटनाको दिन आइतबार राति नै सयौंको संख्यामा प्रदर्शनकारीले पुलिस हेडक्वार्टर अगाडि जुलुस निकालेका थिए। प्रदर्शनकारीले ज्याकबलाई गोली हान्ने पुलिसकर्मीमाथि कारवाही हुनुपर्ने माग राखेका छन्। 

प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएका छन्। केही गाडीमा आगो लगाइएको छ भने प्रहरीले भिडलाई नियन्त्रणमा राख्न टियर ग्यास र गोली चलाउनु परेको थियो। गर्भनर टोनी एभर्से स्थानीय जनतालाई शान्तिपूर्वक प्रदर्शन गर्न अपील गरेका छन्। 

यता केनोशा पुलिसले विस्किन्सन क्रिमिनल इन्भेस्टिगेसन डिभिजनलाई घटनाको छानवीन गर्न आदेश दिएको छ। गोली हान्ने प्रहरीलाई छुट्टिमा राखिएको स्थानीय केही पत्रिकामा उल्लेख गरिएको छ। 

हाल दंगा भएको क्षेत्रमा नेशनल गार्डका २ सय जवानलाई सुरक्षाका लागि उतारिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्कनसिनमा थप संघीय फौज पठाउने बताएका छन्।

मंगलबार रातिको घटना प्रदर्शनकारी र स्थानीय पेट्रोल स्टेशनमा गार्ड गरिरहेका हतियारयुक्त व्यक्तिबिचको विवादका कारण भएको बताइएको छ।

प्रहरीको गोली लागेका ब्लेकको अहिले अस्पतालमा उपचार भइरहेको छ र उनी होसमा आएका छन्। तर स्पाइनलकर्डमा गोली लागेका तथा पेटमा प्वाल परेका उनी फेरि हिँड्न सक्ने हुन ‘चमत्कार’ को खाँचो रहेको उनको परिवारका वकिलले बताएका छन्।

दुई महिनाभित्र अमेरिकामा अश्वेत नागरिक माथि प्रहरीले गोली हानेको यो दोस्रो घटना हो। १२ जुनमा अटलान्टाको जर्जियामा पक्राउ गर्ने क्रममा २७ वर्षीइ रेसर्ड ब्रुक्सलाई पनि गोली हानिएको थियो। यो घटनामा आन्दोलन तीब्र हुने देखिएपछि अटलान्टाका प्रहरी प्रमुखले राजीनामा गरेका थिए।

२५ मेमा मिनिपोलिसमा ४० वर्षीय अश्वेत जर्ज फ्लोयडलाई प्रहरीले घाँटीमा घुँडाले ९ मिनेट थिचेर मारेका थिए।

यस घटनाको अमेरिकामा मात्र होइन, विश्वभरी निन्दा भएको थियो। फ्लोयडको निधनको विषयाई लिएर अमेरिकाको १ सय ४० सहरमा प्रदर्शन भएको थियो भने सरकारले ४० सहरमा कफ्र्यू लगाउनु परेको थियो। 

अमेरिकामा राष्ट्रपति पदको निर्वाचनको मिति नजिकिँदै जाँदा भइरहेको यस्ता घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफ्ठेरोमा पार्ने आङ्कलन गरिएको छ।

प्रकाशित मिति: : 2020-08-27 06:45:28

प्रतिकृया दिनुहोस्