कोइराला, जसले २५ वर्षमा सात पटक सरकारी नियुक्ति पाए

सेतोपाटी

काठमाडौँ

खिलानाथ ढकाल

 

‘यो देशमा कोही कसैको नाता हुनुभएन?,’ राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालक समिति सदस्य नियुक्ति पाएका प्रा.डा. उपेन्द्र कोइरालाले मंगलबार सेतोपाटीले सम्पर्क गर्दा प्रश्न गरे। 

विराटनगर-१४ का स्थायी बासिन्दा कोइरालालाई  सोमबार अर्थमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाउने गरी सदस्य नियुक्ति गरेका थिए।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका ‘सम्धी’ कोइरालालाई राजनीतिक नियुक्ति दिइएको भन्दै उनका बारे अहिले टीकाटिप्पणी भइरहेको छ, धेरैले उनको नियुक्तिको आलोचना गरेका छन्।

‘हो, उहाँ (पोखरेल) को छोराले मेरी छोरी बिहे गरेको हो, सम्धी हो,’ कोइरालाले  सेतोपाटीसँग भने, ‘२२-२३ वर्षअघि म प्राध्यापक हुँदा यो किन भनिएन? अहिले जसरी प्रस्तुत गरिएको छ।’ 

वाणिज्य बैंकका तत्कालीन अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डको सदस्यमा नियुक्त गरेपछि सो पद रिक्त थियो। रिक्त पदपूर्ति हुने गरी उनलाई नियुक्ति दिइएको अर्थ मन्त्रीनिकट स्रोतले बतायो। बैंकको सञ्चालक समितिको चाँडै नै बस्ने र त्यसले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गर्ने स्रोतहरूले बताएका छन्।

स्रोतको दाबीअनुसार सम्भवत: बुधबार नै उनी वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष बन्दैछन्।

प्रकाशित मिति: : 2020-08-25 18:35:36

प्रतिकृया दिनुहोस्