राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ईश्वर पोखरेलका सम्धी !

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन्। कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ। 

कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन्। बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई नियुक्त गरेको हो।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी हुन्। उनी २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भए।

खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए। त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए। २०५८ मा ईश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए।

आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । त्यसबेला उनले गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो। यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए।

केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष भए ।

पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए। विवादमा मुछिए पनि कोइराला मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति समेत बनेका थिए।  उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेकाे थियाे।

विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो। अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए।

मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको छ।

प्रकाशित मिति: : 2020-08-25 13:38:43

प्रतिकृया दिनुहोस्