चिकित्सकहरूसँग माफी माग !

समाजलाई महामारीबाट जोगाउन खटिएका चिकित्साकर्मीलाई टोलमा बस्नसमेत नदिने क्रूर अमानवीय बैगुनी सोच कसरी पलायो होला?

क्वारेन्टिनमा बसेका चिकित्सकहरूलाई आफ्नो टोलमा बस्नसमेत नदिने भनेर हुलहुज्जत गर्ने प्रवृत्ति चरम अमानवीय र मूर्खतापूर्ण पनि हो । यस्तो भिडतन्त्र भारतीय समाजमा विशेषगरी उत्तरभारतमा बेलाबखत देखिने गथ्र्यो । विडम्बना, यस्तै अन्धविश्वास निर्देशित मानसिकता नेपालको राजधानीकै बासिन्दामा देखियो । काठमाडौंको बानेश्वरस्थित ‘बल्लभ मार्ग’को एउटा होस्टलमा सिभिल अस्पतालका चिकित्सकहरू बस्दै आएका थिए । उनीहरू आफ्नो टोलमा बसेको विरोधमा शनिवार ‘टोल सुधार समिति’का नाममा जम्मा भएको भिडले होस्टेलमै हुलहुज्जत गर्दा प्रहरी नै बोलाउनु परेछ । यसअघि चितवनमा आफ्नै घरभित्र आइसोलेसनमा बसेका चिकित्सकहरूलाई स्थानीय वडाध्यक्षसमेतको संलग्नतामा दुव्र्यवहार गरेका थिए । यसैगरी संखुवासभा, विराटनगर, वीरगन्ज, चितवन र जाजरकोटलगायत देशका विभिन्न भागमा पनि चिकित्सकहरूमाथि स्थानीय बासिन्दाले दुव्र्यवहार गरेका समाचार सार्वजनिक भएका छन् । 

विश्वका विभिन्न भागमा कोभिड – १९ को संक्रमण समाजमा महामारीका रूपमा फैलन नदिन अगिल्लो पंक्तिमा लडेका भन्दै चिकित्साकर्मीहरूलाईे सम्मान र प्रोत्साहन दिइएको छ । आप्रवासीप्रति अपेक्षाकृत अनुदार बेलायत प्रधानमन्त्री बोरिस जोन्सन कोभिड–१९ बाट संक्रमित भए । अस्पतालमा उनको उपचारमा आप्रवासी नर्स र डाक्टरहरू खटिएको देखेपछि उनले तिनीहरूको खुलेर प्रशंसा गरेका थिए । धेरै समाजमा चिकित्सकहरूलाई अहिले ‘नायक’ मानेर स्याबासी दिइएको छ । नेपालका स्वास्थ्यकर्मीहरूले आधारभूत सुविधा र वैयक्तिक सुरक्षा सामग्रीसमेत नपाउँदा पनि बिरामीको उपचार गरिरहेका छन् । राज्यले दिने भनिएको सुविधा पनि कतिपयले पाएका छैनन् । तैपनि, उनीहरू आफ्नो कर्तव्य पालन गरिरहेका छन् । समाजलाई संक्रमणबाट जोगाउन खटिएका चिकित्साकर्मीलाई टोलमा बस्नसमेत नदिने क्रूर अमानवीय बैगुनी सोच नेपालीमा कसरी पलायो होला?

प्रकाशित मिति: : 2020-08-23 17:34:16

प्रतिकृया दिनुहोस्