हनुमानको मन्दिर अगाडि पूजारीको हत्या : 'क्लु'समेत फेला पारेन प्रहरीले, त्रसित छन् स्थानीय

काठमाडौं : गर्मीको मौसम। तराईका जिल्ला खपिनसक्ने अवस्था। बुधवार राति करिब पौने ९ बजेतिर ६५ वर्षीय श्रीराम साह भोक मेट्ने तर्खरमा थिए। मन्दिरको भेटीबाट चल्दै आएको उनको दैनिकीमा बुधवार पनि एक लोटा पानी, केही रोटी तरकारी र नुनको ढिका जुरेको थियो।

मन्दिर नजिकैको छाप्रो बाहिर रोटी खाइरहेका थिए। तर, एक्कासी एउटा घटना घट्यो। जसले गर्दा भागको रोटी पेटसम्म पनि पुग्न पाएन। एकाएक उनीमाथि गोली प्रहार भयो। रोटी खाइरहेका साहको बायाँ कन्चटमा गोली लाग्यो। उनी भूईँमा ढले। त्यहीँ अन्तिम सास फेरे उनले।

घटनास्थल हो - रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया स्थित हनुमान मन्दिर।

यो घटना भएको तीन दिन बितिसकेको छ। तर, पुजारी साहको हत्या कसले र किन गर्‍यो अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी अहिले यही घटनाको अनुसन्धानमा रुमलिएको छ।

प्रकाशित मिति: : 2020-08-23 14:03:12

प्रतिकृया दिनुहोस्