सिसाका पारदर्शीे गिलासमा हालेको फिक्का चिया देख्ने बित्तिकै मलाई निर्मलाको याद आउँछ। हिड्दा हिड्दै बाटोमा अपर्झट भेटिएकी निर्मलासँग कडा कफी झैं गाढा माया बस्ला सोचेकै थिएन। सोच्नु पनि कसरी? बाटो दोबाटोमा कोसँग भेट होला र आफ्नो प्रिय पात्र बनिदेला भनेर दिमागमा कस्तो चित्र बनाइ राख्नु? ठ्याक्कै उस्तै पात्र भेटिएन भने दिमागी चित्रको पनि के काम?
हो फिक्का चियाको जस्तो रंग भएको सिउरे घरबुनको फरक लगाएकी थिइन उनले। त्यसैले त त्यो दृश्य सम्झनाको ब्ल्याकइन ह्वाइट रिल बनि बसेको छ। बारम्बार उल्टो घुमीरहन्छ र निर्मलाको एउटै खाल चित्रको याद दिलाइरहन्छ।
उसो त उनको परिचय अरु थुप्रै कोणबाट पनि दिन सकिन्छ। जस्तोकी सयपत्री फुलजस्ती, नम्बरी सुन जस्ती पँहेली। अनारका दानाजस्तै पुष्ट गाला। मध्यान्नको सुर्य जस्तै चम्किला आँखा। कुइरेहरुको जस्तै नेचुरल खैरो धुलौटे कपाल। दारिमका दानाजस्ता दाँत। सगरमाथा जस्तो नाक। स्याउको जुस जस्तै रसिलो बोली। जम्मा दुई कक्षा पढेकी। आफ्ना किताबका नामसम्म थाहा नपाएकी तर डोरो बाटेजस्तै कुरा बाट्न जान्ने खुबी भएकी।
त्यसैले फिक्का चिया देख्ने वित्तिकै ऐजन ऐजन कलरको सिउरे फरक लाएकी निर्मलाको याद आउँछ। निर्मलाको निर्मल चित्र दिमागमा खेल्न थाल्छ।
साँच्चै निर्मलाको कपडा फेरियो होला त? जरुर फेरियो होला। केही नभएको जुम्ली पनि वर्षको एक पटक कपडा फेर्न सक्छ। यो सिंजा सभ्यता हो। राज्यले संयन्त्रले बलजफ्ति गरिबीको प्रचार गरेर मागि खाने भाँडो बनाए पनि माग्ने अवस्थाका छैनन्, गाउँघर। अैंचो पैंचो खुब चलाउँछन् तर ‘छिरायो, जिरायो’ जस्तो बेइमानी कमै हुन्छ।
सायद उनी फरक फरक कलर मन पराउने भइसकी होलिन। ‘दुई रंगको कपडा निको, एक रंगको मान्ठ निको’। निर्मला एक रंगकी होलिन्। उनका कपडा दुई रंगका होलान्।
पल्ट पल्ट निर्मला भेट्न जाने सोच बनाउँछु तर फेरी स्थगित गर्छु। निर्मला सम्झने वित्तिकै सँधै एकै खालको चित्र बनाउने दिमागले अर्कै बनाइदेला भनेर डर लाग्छ। डरले आँट मारेको छ। अर्कोतिर खुल्दुली लागिरहन्छ। उनकी आमाको पेटौंदो भएको भाइ साँच्चै चेक जाँच गरेर भनिएको थियो कि अनुमान मात्र थियो? वा भाइको आशमा उनका बाआमाले बहिनीमात्र जन्माइरहेका छन्? वा भाइ हुनैपर्छ भन्ने समाजका कारण निर्मलाकी आमा लगातार मेसिन बनिरहेकी छिन्? वा पुरुषसत्ताको कोपभाजनमा परिन? यी बेचैन बनाउने खुल्दुलीले डरको हत्या गरी उतै पुगौं लाग्छ।
अब बाँकी जिम्मा भविष्यलाई दिन्छु। कुमार नगरकोटीले मदनमडी दिक्षितलाई प्रेम गरेर कहिल्यै नभेटे जस्ते हुने हो कि वा बारबार भेटीरहनु पर्ने हो त्यो समयको गर्भमा हुर्किदै गरोस्।
०००
आचार्यलिहीमा निर्मलाले छोडेपछि गाडीले उत्साहमा ब्रेक लगायो। गाडी स्लो मोसनमा चल्यो। मान्छेको चहलपहल पनि स्लो भयो। भित्री वातावरण सुनसान मसानघाट जस्तो भयो। मध्यरातामा मसानघाटमा आत्माहरु भड्किन्छन् भनेझैं केवल कन्डक्टर भड्किरहयो। ढोका डकढकिरह्यो।
धुलो धुँवामा हराएका यात्रीहरु ओर्लने र चड्ने गर्दा पनि वातावरणमा हलचल आएन। आचार्यलिहीबाट धुलोमा हराएको गाडी सडक स्तर उन्नती नगर्ने सरकारलाई सराप्दा सराप्दा थकित भएपछि गोठी जिउलामा विश्रामा गर्न पुग्यो।
०००
संयोगले भेटिएकी निर्मला झैं तुंगनाथ बा भेटिएपछि मुगु लेख्न हिडेका हामी दुई शब्द खर्च नगरी अगाडि बढ्न सक्ने थिएनौं। देउडाको रागसँगै सुरु भएको चिना परिचय सिंजा सभ्यताको बहसमा गएर टुंगिएको थियो। उनको चिन्ता थियो ‘इतिहास बाँगीजान्या हो की?’
फेरी भेट्ने बाचा सहित छुट्टिएको हुनाले फोन भइरहन्छ। कोरोना माहामारीमा एक पटक सिंजा पुग्दा भेट भएको थियो। सुरुमा चिनेनन्। मैले नाम भन्दा ‘एक हाम्रो महेश पनि छ पोरी बजार बोहोरागाउँको’ भने। उही मान्छे हुँ भन्दा ‘त्यैबेला थोक्कै काला छियौ। आजभोली क्या गोरा भयाछौ त?’ सायद लकडाउन अवधिमा कोठाभित्रै थुनिदा घामले सम्पर्क गर्न पाएन। म गोरो भएछु।
त्यसपछि अंगालेर आत्मिएता देखाएका उनले फर्किनेबेला दुई सय देउडा गीत कोसेली दिए। केही अर्ती उपदेशको भारी र जिम्मेवारी सहित विदा गरे। ‘क्या चिन्ता मान्यौ? ज्या चाहिया दिन्या मो छुनैछु। तिमी लेख मात्रै।’ एक अर्को भरोसा दिएर बिदा गरे।
०००
रारा छोडेर हिड्नु परेकी जौमती आमा पुनः रारा जाने मुलबाटो सल्लेरी नजिक आइ बसेकी छिन्। हिउँद रारामा पाहुना लाग्न आउने साइबेरियाली चराझैं गरी आइन उनी। अब न जन्म थलो बाँकी छ न घर, न सिरी सम्पत्ति। ‘जन्म्याको थलोमै मर्न पायाले हुन्याछियो’ उनले अन्तिम इक्षा जाहेर गरिन्।
०००
कर्णाली बोकेर बेला बेला काठमाडौं लागिरहने हिरा बिजुली बेथिति विरुद्ध मुगुमा बमसरी पड्किदैछन्। आविश्कारले कर्णाली बनाउने, कला, संस्कृतिको र धुनको निर्माण गर्ने, मानवीय जीवन सरल र सहज बनाउने सिंगो दलित समुदायसँग भएजति सबैलाई कलाकै माध्यमबाट मुल प्रवाहमा ल्याउन सुख सयल त्यागेका एक जोगी हुन उनी। जसलाई एक गास मिठो र एक राम्रो टालोभन्दा पनि फाटेका, १० ठाउँ टालेका टाला भित्रको सुन्दर संस्कृति खोज्नु संसारकै सबैभन्दा ठूलो काम लागिरहेको छ।
उनको काठमाडौं हल्लाउने लेखन जारी छ। मुगु डायरीका एक शशक्त पात्र बनेका उनी ‘कर्णालीले कर्णालीलाई चिनेर लेख्न थालेपछि बढ्दै गरेको सिलंगीको रुख झैं उत्साह बढेको छ’ भन्दैछन्।
कर्णाली चिनाउन ओझेलमा परेको मानवशास्त्रबारे चिन्तन बेसी छ। सायद राज्य संयन्त्रले कर्णालीका ताल तलैया, खोला, झरना सुन्दर देखे पनि यहाँका मान्छेलाई फोहर देखिरहेको छ। त्यसैले लेख्नेहरु पनि झिंगा र फोहरलाई निकै बढाइचढाई गरिरहेका छन्। तर हिरा बिजुली मैला कपडावाल मान्छेको आविस्कारलाई हिराभन्दा महंगो बनाउन सकिने दाबी गरिरहेछन्। कर्णालीबारे रचिएका सबै भाष्यहरु ध्वस्त पार्न चाहन्छन्।
०००
गमगडीमा कम्प्युटर व्यवसाय गरी बसेका नरेश शाही कर्णालीलाई आधुनिकीकरण गर्ने सफ्टवेरको विकास गर्न र तालिम दिन लागेका छन्। तर बिचौलीयको बिगबिगिले उनलाई धेरै पल्ट हराएको छ। धेरै पल्ट लडेका छन्। बल्ड्याङ खाएका छन्। र पनि उनलाई लड्नु स्वभाविक लाग्छ। त्यसैले उनी घोडा चडिरहन्छन्।
‘ज्यान जाला घोडा चड्न छोडिन्न’ उनको कथन छ। सिंजा राज्यका अन्तिम राजा सोभान शाहीझैं उनी कुनै हालतमा हार मान्न तयार छैनन्। सुरुमा उनलाई निराश देखेका हामीले निश्कर्ष निकाल्यौं, ‘उनी कालो वादलमा हुने चाँदीको घेरा हुन। उम्रनलाई झरेका फूल हुन।’
०००
माथिका दुई पात्र हिरा र नरेश मुगुको राजनीति र पत्रकारीताको खरो आलोचना गर्छन्। स्वभावैले सत्ता पक्ष र प्रतिपक्ष जस्तो हुनुपर्ने राजनीति र पत्रकारीता ‘गाँसेगुसे एकैनासे’ हुँदा मुगाली आक्रोश चुलिएको थियो। हिरा र नरेश मार्फत चिनिएका अरु थुप्रै पात्रहरुले पनि उस्तै धारण बनाउँदा लाग्यो, ३६ हुनुपर्नेमा ६३ भएपछि नै हो रहेछ आक्रोश चुलिने।
०००
पर्यटन उद्योग मार्फत कर्णालीलाई विश्वभर पुगाउन सकिने मानसिकता बोकेर लागेका क्षितिज बुढा मान्छे एक भइकन पनि अनेक व्यवसाय धानी बसेका निडर व्यवसायी हुन। सिंगो मुगुलाई थिच्ने भारी कारोबार पनि चंगा जस्तो हल्का गरी धानिरहेका छन्।
नगरपालिकाको कच्चा निर्णयका कारण करोड घाटा व्यहोरेका उनी पर्यटन उद्योगबाट पनि उस्तै घाटा खाइरहेका छन्। लाग्छ, घाटा उनको खाना हो। खाने, अघाउने र पचाउने भइरहेको छ। उनी कर्णाली चिनिन्छ चिनिन्छ नै भन्दै लागेका छन्। ‘धिर ग¥या पै खिर खान पाइन्छ’ उनको व्यवसायिक नारा हो।
०००
डेड सय रुपियाँलाई करोड बनाउने धनमाया सिंह बुढा कर्णालीकी असली हिरोइन हुन। हाते होजरीकी मानार्थ प्राध्यापक हुन। विज्ञ हुन। उनको विषयमा बिएल नेपाली सेवाले लेख्ने वित्तिकै महिला मन्त्रालय अन्तर्गतको विज्ञ समूहमा मनोनयनको प्रस्ताव भएको थियो। तथापी कोरोनाको माहामारीका कारण त्यसले मुर्त रुप पाउन सकेन।
ओछ्यान लगाएर सुत्दा पनि बढी हुने पमाण पत्र, प्रशंसा पत्र र सम्मान पत्रहरुले नै माग गर्छन्, मानार्थ विद्यता प्रमाण पत्र। के सरकारसँग यस्तो कुनै संयन्त्र होला जसले यस्ता उद्यमीहरु पनि प्राध्यापक जतिका विज्ञ हुन्छन् भन्ने कुराको प्रमाण दिनलाई?
०००
भामबाडामा कलाकार छन् भनि पुरै देशले चिनिसक्यो। तर विष्णुमाया आफ्ना नाडीमा शक्ति आर्जन गर्दै बसेकी होलिन् भनेर मैले थाहा पाएको थिइन। आफ्नै जीवनसाथीलाई बाबु र अर्को कुनै युवकसँग यौंन सम्पर्कको दृश्यलाई दुरुस्तै उतार्न सक्ने एक शशक्त कलाकारको नाडीमा शक्ति पालाउने नै भयो।
मिन भाम, राजेश खत्री, हिरा बिजुली, खड्गराज नेपाली जान्माउने भामबाडाले विष्णुमायाहरु पनि जन्माएको छ। भामबाडाले नै कानमा सुटुक्क भन्यो, ‘पख अरु विष्णुमायाहरुका नाडीउँदो शक्ति पलाउँदैछ।’
एउटा अविस्मरणीय ठट्टा यहाँ उल्लेख गरिहाल्नु उपयुक्त हुनेछ। नाडीउँदो शक्ति पलाएर नै होला एकदिन विष्णुमायाले खुलेर मलाई प्रेम प्रस्ताव राखिन। तर आफ्नो लागि होइन। आफ्नो छोराको लागि। उनको कान्छो छोेरा जन्मेको केही दिनको कुरा हो। ‘अब तुमी छोरी जन्माउ, मेरो छोरो छँदैछ। भ्या गद्दिउना।’
सायद गर्भ छिटाको दोस्रो भाग बाँकी नै छ। ‘हवस् सम्धिनी ज्यू, बाँकी छोरी भएपछि!’
०००
यतिबेला हरिकृष्ण विष्ट खेतका आलि आलि, गराका भिट्टा भिट्टा हिड्दै होलान्। डाले चुक कति फलेको छ? जुस कति उत्पादन गर्न सकियला? व्यवसाय विस्तारको परिकल्पना गर्दै होलान्। नेपालको राष्ट्रिय फूल लागिगुराँसको जुस लाग्दै वैशाखमा उत्पादन गरे होलान की नाई? उनको जुसले ग्राहक पायो कि नाई? रारा हेर्न आउने जति सबैलाई ग्राहक बनाउने टार्गेट मिट भएन होला सायद। उनको मुहार उस्तै हँसिलो नभएर गाला हात लगाई टोलाएर बसेका होलान्! तर यही भएको छ भनि थाहा पाउनु कसरी?
फोन नलाग्ने ठाउँमा छ ‘रारा जुस प्रडक्सन उद्योग।’ मालिकसँग सम्पर्क नभएको पनि भेट भएपछि नै हो।
०००
बलराम सहनी, पञ्चराम सहनी, गोराचन्द्र साहनी, हंशबीर कुलाल, रत्नसिंह कामी निगालाका दामी समग्री बनाउँछन्। कसले के बनाउँछ त्यो यहाँ नलेखौं। मुगु डायरीको निगालोले धानेको जीवन शृङ्खलामा नै छ।
तर अब नयाँ पुष्ताले निगालोले जीवन चलाउन्या छैन। न नाम, न दाम, न माम भएपछि सीप हस्तान्तरण भएको छैन। पछि बन्द संग्रालय बनाउन पैसा खर्च गर्ने र सामग्री खेड्न भुटो(झण्ज) गर्नु भन्दा अहिले खुला संग्रालयमा लगानी गर्न उपगुक्त हुनेछ। रोजगारी बड्नेछ भने अर्थतन्त्र सुदृढ हुनेछ। रेमिट्यन्स र भन्सारले देश चलाउनु भन्दा यो कयौं गुणा गर्वको विषय हुनेछ। सुन हो, तीन तहका सिंह दरबार, सुन!
०००
मुगुको राजनीतिक वातावरण कति फोहेर छ भन्ने कुरा ‘माथि बुम हराउँ, तली डुम हराउँ’ले नै बताइसक्यो। सफा कहिले हुन्छ भनि सोध्नुहुन्छ भने त्यसको उत्तर म के दिउ, ओली र प्रचण्डको बेलीले नै बताउला। बरु यत्ति त फेरी भन्नुपर्छ हिरा बिजुलीको मानवशास्त्रवाला आन्दोलन कछुवाबाट खरायो हुन्छ हुन्छ।
०००
मुगुु डायरी पछिको कुरा यत्ति हो। दशै र तिहारको बीचमा भएको मुगु यात्रापछि बिएल नेपाली सेवामा प्रकाशित भएको मुगु डायरी शृङ्खका सबै सामग्री उपयोगी ठान्ने र मन पाराइदिनु हुने सम्पूर्ण पाठकहरुप्रति आभारी छु। ‘अब यसपछि के गर्छस्?’ भनि प्रश्न गरिरहने प्रिय पाठकहरुका लागि जवाफ खासै केही छैन तर आगामी दिनमा पनि बिएल नेपाली सेवाले महत्वपूर्ण विषयलाई शृङ्खलाबद्ध रुपमा तपाईहरुमाझ ल्याउने नै छ।