पर्सा, बारा र रौतहटमा ६० संक्रमित थपिए, एककाे मृत्यु, तीनकाे अवस्था चिन्ताजनक

पर्सा, बारा र रौतहटका गरी ६० जना संक्रमित थपिएका छन्। नारायणी अस्पतामा ४५० जनाको नमुना परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ८ महिला र ५२ पुरुष छन्। जसमध्ये पर्साका ५४, बाराका ५ र रौतहटका १ जना संक्रमित रहेका छन्।

प्रयोगशालाका अनुसार संक्रमितमध्ये अधिकांश पर्साको पर्सागढी नगरपालिकाका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका केही प्रहरीमा पनि संक्रमण देखिएको छ। संक्रमितबारे थप विवरण आउन बाँकी छ।

संक्रमित हुनेमा ३ वर्षदेखि ६० वर्ष सम्मका बालिबालिका, महिला, पुरुष तथा वृद्ध रहेका छन्। पर्साका ५४ जनामध्ये अधिकांश पर्सागढिको रहेको नारायणी अस्पताललले जनाएको छ।

थप एक जनाकाे मृत्यु 

पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। नारायणी अस्पताल अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा आएको वीरगञ्ज हेल्थ केयर अस्पतालमा आज बिहान बहुदरमाई नगरपालिका४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो। 

चार दिनदेखि वीरगञ्ज विर्तास्थित अलि अर्थो ट्रमा सेन्टरमा उपचार गराउँदै आएका वृद्धलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ ४ गते बेलुका साढे ८ बजे  वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो।

उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब भदौ ३ गते संकलन गरिएको थियो  वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा शनिवार विहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डा दीपक कुशवाहाले जानकारी दिए। उनलाई श्वासप्रश्वास, ज्वरो तथा बान्ताको समस्या थियो।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ। मृत्यु भएकामध्ये २७ जना पर्साका, ६ जना बाराका र रौतहटका २ जना छन्।  

उनीहरुको नारायणी, गण्डक, वीरगञ्ज हेल्थकेयर हस्पिटल तथा नेशनल मेडिकल हस्पिटल लगायतमा मृत्यु भएको थियो। यता जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन।

थप तीन जनाको स्थिति नाजुक 

वीरगञ्ज हेल्थकेयर अस्पतालमा थप तीन जना कोरोना भाइरस संक्रमितको अवस्था नाजुक रहेको स्रोतले बताएको छ। 

तीनै जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 
 

प्रकाशित मिति: : 2020-08-22 11:56:01

प्रतिकृया दिनुहोस्