स्थानीय तहलाई प्रदेश र संघीय सरकारको असहयोग

विराटनगर महानगरको आफ्नै पीसीआर ल्याब, अब आजको आजै नतिजा

विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र संक्रमितको स्वाब परीक्षणको नतिजा अहिले पनि घटीमा पाँच दिनमा आउने गरेको छ । संक्रमितको व्यवस्थापन प्रदेश सरकारको जिम्मेवारी भए पनि बेवास्ताका कारण स्थानीय तह आफैंले आइसोलेसन सञ्‍चालन गर्न थालेका छन् । 

मोरङमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाले आफ्नै आइसोलेसन सुरु गरिसकेका छन् । विराटनगर महानगरपालिकाको वडा १९ स्थित इलाका स्वास्थ्य कार्यालयमा सञ्‍चालित आइसोलेसनबाट बिहीबार १९ जना कोरोना ठीक भई घर फर्किएका छन् । उनीहरूलाई बिदाइ गर्न महानगरपालिकाका मेयर भीम पराजुली आफैं पुगेका थिए । स्थानीय तहले संकलन गरेका स्वाब प्रदेशको ल्याबमै थुप्रिन थालेपछि विराटनगर महानगरलाई आफ्नै ल्याब सञ्‍चालन गर्न दबाब परेको थियो । “अब आफ्नै मेसिनबाट चाँडो नतिजा आउने गरी प्रक्रियासमेत थालेका छौं, एउटा मेसिन आइसकेको छ,” मेयर पराजुलीले भने, “एउटा पीसीआर मेसिन र चाँडो रिजल्ट दिने अर्को मेसिन खरिद गर्दै छौं । आज बेलुका पीसीआर मेसिन आइपुग्छ । चिकित्सकको परामर्श समितिले नै मेसिन छनोट गरी प्रक्रियागत रुपमा खरिद गरेका हौं ।” कोसी अस्पतालभित्रकै ल्याबमा दुवै मेसिन राख्‍ने र सञ्‍चालन गर्ने विषयमा सहमति हुने मेयर पराजुलीले बताएका छन् । 

प्रकाशित मिति: : 2020-08-21 15:31:43

प्रतिकृया दिनुहोस्