यसकारण ब्यूँतियो नेकपा एमाले

मनिषकुमार उपाध्याय 

करिब सात महिना पहिला हामी केही युवा साथीहरुबीच केही नयाँ योजना बनाएर काम गर्ने विषयमा छलफल भएको थियो।

कोही साथी व्यापारी, कोही इञ्जिनीयर, कोही डाक्टर हुनुहुन्थ्यो। यीमध्ये कोही पूर्वएमालेसँग सम्बन्धित हुनुहुन्थ्यो त, कसैको झुकावमात्रै थियो। तर, सबै मदन भण्डारीको विचारबाट प्रेरित थियौं।  

यही क्रममा हामीबीचमा थुप्रै पटक छलफल भए। अझ लकडाउन सुरु भएपछि हामीले मिहिनरुपमा छलफल चलायौं। त्यही छलफलले नेकपा एमाले ब्यूँताउने विषयले मूर्त रुप लियो। अध्यक्षज्यूसहित हामी केही साथीबीच चिया गफमा बनेको योजना पछि दल दर्ता गर्ने अवस्थासम्म पुग्यो। 

जनताका प्रिय नेता ‘जबज’ सँग हामी नजिक थियौं। मदन भण्डारीको विचार र नेकपा एमाले आफैँमा ब्राण्ड भएकाले पार्टी दर्ता गर्ने सोचमा पुग्यौं। संयोगले हामीले मदन भण्डारीको जन्मजयन्तीका दिन निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दियौं। आयोगले बुबाको मुख हेर्ने दिने वैधानिकता दियो। 

हामीले दल दर्ताको निवेदन दिएपछि सत्तारुढ दलमा विवाद पनि निम्तियो। केही नेताहरुले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेकपा एमाले दर्ता हुन लागेको आरोप लगाउनुभयो। तर, यी आरोप मिथ्या हुन्। के चाहिँ पक्का हो भने नेकपाले जबजको ‘ज’ पनि पछ्याएन। अझ जबज नै छोड्ने स्थिति आयो। मदन भण्डारीको सिद्धान्त कसैले पन्छाउँछ भने कसैले पछ्याउन पनि पाउँछ। हामीले मदनको सिद्धान्त अंगिकार गरेका छौँं। 

 

प्रकाशित मिति: : 2020-08-21 07:31:33

प्रतिकृया दिनुहोस्