सांसदको लोगो फेरि बनाउँदा कसले खर्च ब्यहोर्ने ?

४ भदौ, काठमाडौं । संघीय संसदका सांसदहरुले लगाउने लोगो अस्वीकार भएपछि पुनः बनाउँदा लाग्ने खर्च कसले ब्यहोर्ने भन्ने विवाद देखिएको छ ।

लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै सार्वजनिक रुपमा आलोचना भएपछि संसद सचिवालयले निर्माणकर्ता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई फिर्ता पठाएको छ । 

संघीय संसदका पदाधिकारी र सदस्यले लगाउने ३५० लोगो बनाउँदा २० लाख रुपैयाँ खर्च भएको छ ।

उक्त लोगोमा २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाइएको थियो । पित्तलको नक्सामा चाँदीको बेस थियो । लोगोको पुछारमा रहेको दुई हातमा चाहिँ तामा प्रयोग गरिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका अधिकृत गणेश राउतले पुनः लोगो बनाउँदा पहिले प्रयोग भएको सुन, तामा र पित्तल पुनः प्रयोग गर्न नमिल्ने बताए । चाँदी भने त्यसकै प्रयोग गर्न सकिन्छ ।

‘नयाँ बनाउँदा तताउनुपर्छ । तताउँदा प्लास्टिक कोटेड (टल्किने) पग्लिन्छ । सुन जलप हो खेर गइहाल्छ, तामा तातोले कालो हुन्छ’ उनले भने ।

सुनको भाउ पहिले भन्दा महंगो भएकाले अब पहिलेजति लोगो बनाउँदा पनि धेरैखर्च लाग्ने बताए । ३५० थान लोगोका लागि अब ७ लाख रुपैयाँको सुन चाहिने अनुमान गरिएको छ । त्यसैगरी तामा र पित्तलसमेतको खर्च जोड्दा १० लाख रुपयाँ खर्च लाग्ने राउत बताउँछन् ।

प्रकाशित मिति: : 2020-08-20 15:38:26

प्रतिकृया दिनुहोस्