जो समाज परिवर्तनका तृषा वा युगान्तकारी थिए, उनीहरूप्रति हाम्रो काव्यदृष्टि अन्तर्निहित नै थियो। जिल्लाका काव्य भूषण आलङ्कारीको दर्जमा हामीले बुझिसकेका थियौं। आउने दिनमा ठूलो उम्मीद देखेका थियौं।
कयौं पटक चिया पसलमा चियाको चुस्की लगाउँदै मिल्ने साथीहरु दृष्टिकोणको बहसमा उनीहरुकै गीत गाउथ्यौं। विचार, दृढता, संकल्प, दृष्टिकोण र भविष्यका कुरा गर्थ्यौं। मन मस्तिष्कमा विश्वासको भीषण ज्वारभाटा उम्रेको थियो।
अब इतिहासको धारा परिवर्तन हुने जमर्कोको पनि कुरा गर्थ्यौं। विचारधारा ठानिएको थियो।
राष्ट्रहितको साधनालाई निरन्तरता दिन्छन् भन्ने भाव थियो। तर अहिले सबै ठ्याक्कै उल्टो दिशातर्फ गइरहेको छ। गरिबीको बज्रपातले गरिबलाई प्रत्येक क्षणमा हानिरहेको छ। भ्रष्टाचारले चरम रूप लिँदैछ। समाज झन् कुरिती, कु-संस्कार, कु-संस्कृत तर्फ मोडिँदै छ।
अनुशासन, सु-शासन, जिम्मेवारी जबाफदेहिता, पारदर्शिता, इमान्दारिता, सुयोग्य प्रणाली केही पनि छैन? विकासको मोडालिटी एकातिर छ अर्कोतर्फ पार्टीको लम्पसारवादले जनमनमा वितृष्णा उब्जाएको छ।
न ईन्टरनेट एक्सेस राम्रो छ। न बत्तीको निरन्तरता। न सडक सञ्जाल राम्रो छ। न खानेपानी नै। अरू थप्दै जाऔं...यस्तो डामाडोल स्थितिमा पनि राजनीतिको भुतमा सवारहरु प्रतिको उम्मीद ठ्याक्कै शुन्य।
त्यसका बाबजुद पनि राजनीतिक आयामको लागि गलत तवरबाट जनमनको आलङ्कार बटुल्न खोज्ने यो कस्तो मनोप्रवृत्ति हो? जहाँ केवल वितृष्णाको पोखरी जमेको छ।
चिनियाँ भनाइअनुसार- बिक्षिप्त र आडम्बरको राजनीतिले वर्तमान स्थिति सँगसँगै भविष्यमा पनि ठूलो क्षति पुर्याउँछ। यो भनाइले के पुष्टि गर्छ भने माझीहरुले उल्टो वायुप्रवाहको वहावमा डुङ्गा चलाएपछि निश्चिति रुपमा डुङ्गा त डुब्छ नै। थोरै चेतना भया।
जसलाई हामी अग्रपंक्तिमा गिन्ति गर्छौ। जो बुद्धिजीवी कहलाउँछ। बुद्धिजीवीको नाममा कयौं नामकरण गरिन्छ। जसलाई हामी समाजका सक्षम नागरिकको दर्जा दिन्छौं। उनीहरुले महामारीको घडीमा केटाकेटी हर्कत देखाइरहेका छन्।
लकडाउन अवधिभर नेपाल कम्युनिष्ट पार्टी जुम्लाले राजनीतिक आयामको लागि जिल्लामा विभिन्न ठाउँमा जनभेला गर्यो। त्यस्तै नेपाली कांग्रेस पनि ऐजन ऐजन अवस्थामा रह्यो।
विश्व महामारीको चंगुलमा फसिरहेको छ। कोरोना संक्रमणको तिव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ। यस्तो अवस्था आउन नदिन सबैले ऐक्यवद्ध भएर संकटको सामना गर्नुपर्छ भनेर लागिपरेका छन् तर यतिबेला जिल्लाका अग्रपंक्तिमा रहनेहरु रोकथाम तथा नियन्त्रणका लागि तह-तप्काको असंबेदनसिल, अहंकार र अकर्मण्यता कारण यो भयानक स्थिति आएको हो।
सामाजिक, भौतिक राजनैतिक क्षेत्रमा धैर्य गर्न नसक्ने र गैरजिम्मेवारी हुने स्थितिले दुर्भिक्ष र संकट निम्तिने देखिन्छ। दिनानुदिन मान्छेहरू महामारीबाट मरिरहेका छन्। समुदायलाई कोभिड -१९ को भयावह स्थितिले लतार्दैछ। यस्तो संकट, प्रतिकुलतामा अनुकुलता ल्याउनु पर्छ भन्ने ध्यय छैन?
समुदायमा, मासमा कोरोना पोजेटिभ देखिरहँदा पनि नेपाल कम्युनिस्ट पार्टीले जिल्ला भरी गाउँपालिका, नगरपालिका र वडापालिका भरी हजारौं संख्यामा मान्छे भेला गरेर कमिटी गठन गर्यो। जहाँ संक्रमणको खतरा थियो। इन्चपनि कसैको ध्यान गएन। संवेदनशील हुनुपर्छ भन्ने मस्तिष्क नै रहेनछ। यत्रो गैरजिम्मेवारी कसरी हुन सक्छ? आखिर जनताको लागि, समाज हितको लागि राजनीतिमा आएका हुन भने खै त चेतना? खै त जनताप्रतिको उत्तरदायित्व? खै कहाँ गयो प्रबुद्ध, बुद्धिमतापूर्ण र असल नेतृत्व?
जसलाई हामीले अभिभावकको दर्जा दिएका थियौं, जसले सिंगो जिल्लालाई नेतृत्व गरिरहेको छ सोचेका थियौं, जसलाई आशाको समुद्र मानेका थियौं, जसकै कारण जुम्लीका सुदिन आउनेछन् सोकेका थियौं त्यो टुटेर भग्नावशेष भइदयो।
वास्तवमा ती सबै भ्रम रहेछन्। भ्राहरुलाई खिलझैं गाडेर राख्नु भन्दा दुधमा परेको झिंगालाई झैं मिल्काउनु नै उत्तम हुँदोरहेछ।