यसरी सोच्छु कहिलेकाहीँ

बाबा १

मेरै जस्तो अनुहार छ उनको
नाक, मुख, रुपरङ्ग 
एउटा एउटै छन् हाम्रा
अरुले यसरी भन्छन्।

मेरै जस्तो आँखा भएको, तर
म जस्तै रुँदैनन् कहिल्यै उनी।
मानौं, उनका आँखाले बस् हेर्ने काम गर्छन्
परिवार हेर्ने
घर हेर्ने
समाज हेर्ने
सन्तानको भविष्य हेर्ने
यसैले भ्याउँदैनन् हेर्न कहिल्यै- आफैले आफैलाई।
*

बाबा २

मेरो बाबाको हातका किरिङमिरिङ रेखाहरु
र नियाले मैले मेरो हात
रेखाहरु किरिङमिरिङ मेरो पनि छ।
उनका हातहरु गलत्त गलेको जस्ता छन्!
ठाउँ ठाउँमा ठेलाहरु उठेर, 
प्याट्प्याट् फुटेका दागहरु छन्!
र मेरो हातमा छ एउटा कलम
जो संसारमै सबैभन्दा महंगो छ,
किनकि यसको मसी मेरो बाउको पसिना हो।
*

बाबा ३

खुट्टाको काम हो हिड्ने।
मैले बामे सर्दादेखि नै देखेको हुँ 
बाबा हिड्नुभएको!
उनले कान्छी अौंलाको सहारामा
हिड्न सिकाउँथे मलाई।
फलतः 
आज म ठमठम हिड्न सक्ने भएको छु, बाबा जस्तै
तर फतक्कै गल्छु! 
आश्चर्यचकित हुन्छु, 
मभन्दा कयौं समयअघिदेखि हिडेर पनि
उनलाई मैले गलेको कहिल्यै देखिनँ/देखेको छैन। 

बाबा रोबर्ट पो हुन् क्याउ? 
यसरी सोच्छु कहिलेकाहीँ।

प्रकाशित मिति: : 2020-08-19 17:11:39

प्रतिकृया दिनुहोस्