हरेक धर्म र संस्कृतिमा बुवा र आमाको सम्मान गर्ने परम्परा आआफ्नै छ। मृत भइसकेका बुवा र आमाका सम्झनामा श्राद्ध गर्ने र जीवित आमाबुवालाई सम्भव भएसम्म भेटेर प्रेमपूर्वक भोजन गराउने, उपहार दिने, आशीर्वाद लिने र आदर्शको प्रतीकका रूपमा सम्मान पनि गर्ने गरिन्छ। त्यही दिनलाई कुशेऔंसी अर्थात् बुवाको मुख हेर्ने दिन भनिन्छ, जुन भाद्र कृष्ण औंसीका दिनमा पर्छ।
कुशेऔंसी हिन्दुहरूको एउटा धार्मिक पर्व नै हो। यस धर्ममा व्याख्या गरिएअनुसार कुश हिन्दुहरूको पवित्र वनस्पति हो र हामीले वर्षभर गरिने देवकार्य, पितृकार्य, धार्मिक कार्य आदिका लागि अति आवश्यक मानिन्छ। यस दिनमा आफैंले वा गुरु–पुरोहितद्वारा विशेष मन्त्रोच्चारण गरी उखेलेर आआफ्ना घरमा राख्ने राखिन्छ।
यसै दिन बुवा जीवित नभएकाहरू काठमाडौंको गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराह क्षेत्र, शक्तिपीठ, देवालय तथा तीर्थस्थल पुगेर पितृहरूका सम्झनामा तर्पण तथा श्राद्ध गर्ने गर्छन्। पछिल्ला समयमा आफ्ना सन्तानको सुख र खुसीका लागि जीवनभर दुःखकष्ट गर्ने बुवाआमालाई मरेपछि होइन, जीवनकालमै माया, प्रेम र सम्मान गर्नुपर्छ भन्ने मान्यता र सम्मान गर्ने परम्परा विकास हुँदै आएको छ।